आगामी चुनावमा गठबन्धनको मोडालिटी कस्तो ? - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

आगामी चुनावमा गठबन्धनको मोडालिटी कस्तो ?


काठमाडौं । मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत छन् । तर गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्ने देखिएको छ । बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि मंसिर ४ मै चुनाव गर्नेमा मोटामोटी सहमति जुटेको भए पनि सिट बाँडफाँडको विषयले भने गठबन्धनमा समस्या आउने देखिएको छ ।

सिट बाँडफाँडको मोडालिटीबारे अहिलेसम्म दलहरुबीच छलफल भएको छैन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । सो निर्णयको गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्वागत गरेका थिए । त्यसयता गठबन्धनभित्र आगामी निर्वाचन र सिट बाँडफाँटको ‘मोडालिटीका बारेमा छलफल नै भएको छैन ।

निर्वाचन आयोगले आगामी २ मंसिरमा निर्वाचन मिति प्रस्ताव गरेको थियो । तर, गठबन्धनभित्र निर्वाचन मिति विषयमा बुधबार सहमति जुटेको र विहीबारको मन्त्रिपरिषद बैठकले ४ मंसिरमा निर्वाचन गर्ने घोषणा गर्ने भएको बुझिएको छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटको संवैधानिक व्यवस्था छ ।

‘चुनाव विषयमा गठबन्धन स्पष्ट छ, प्रतिनिधि सभासम्म नै गठबन्धनसँगै जान्छ,’ सत्ता गठबन्धनमा आबद्ध माओवदी केन्द्रका नेता वर्षमान पुन भन्छन्, ‘आन्तरिक रूपमा के कसरी सिट बाँडफाँट गर्ने ? भन्ने विषयमा अब छलफल सुरु हुन्छ ।’

गठबन्धनमा रहेका दलका शीर्षनेताबीच भएको यसअघिको सहमतिअनुसार गत स्थानीय तह निर्वाचनमा गठबन्धनमा आबद्ध दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँटमा अघि बढ्ने सहमति छ । उच्च स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले ८५ देखि ९० सिटमा दाबी गरेको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले ५० भन्दा बढी सिटमा अपेक्षा राख्दा जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले आन्तरिक रूपमा ३०÷३० सिटभन्दा बढीमा दाबी राख्ने योजना बनाएका छन् । तर, दाबी गरेअनुसार सिट पाउने अवस्था नभएकाले माओवादी केन्द्रले ४०, जसपाले २३, नेकपा एसले २० सिट पाउने अवस्था रहेको बताइन्छ ।

त्यस्तै, सत्ता गठबन्धनमा रहेको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले पाँच सिट माग गर्न थालेको छ । तर, उसले बढीमा प्रत्यक्षतर्फ दुई सिट पाउन सक्ने सम्भावना छ । गठबन्धनभित्र एकीकृत समाजवादी र जसपाको सिट बाँडफाँटमा भने समस्या हुने देखिएको छ ।

सिट बाँडफाँडमा विगतमा भएको कमजोरी नदो¥याउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत रहँदै आएका छन् । त्यस्तै आगामी सरकारको नेतृत्व विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच होडबाजी सुरु भएको छ ।