बाग्मती प्रदेशका सबै कार्यालयहरुमा स्तनपान कक्ष बनाउन मन्त्री लामाको जोड - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

बाग्मती प्रदेशका सबै कार्यालयहरुमा स्तनपान कक्ष बनाउन मन्त्री लामाको जोड


काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले कार्यस्थलमा स्तनपान कक्ष बनाउन सबैलाई आह्वान गरेको छ । विश्व स्तनपान सप्ताहका अवसरमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो प्रदेश अन्तर्गतका सबै कार्यालय तथा प्रतिष्ठानहरुमा स्तनपान कक्ष बनाउनका लागि प्रेरित गरिएको बताए ।

उनले वक्तव्य जारी गर्दै स्तनपान बालबालिकाको आधारभूत अधिकार र आमाको आधारभूत जिम्मेवारी भित्र पर्ने विषयमा सबैलाई जानकारी गराउनु पर्नेमा जोड दिए । स्तनपानको महत्वका बारेमा घर घरमा जनचेतना फैलाउनु पर्ने र त्यसका लागि सबै क्षेत्रबाट योगदान हुनुपर्ने उनको भनाई छ ।

प्रत्येक वर्ष अगस्टको पहिलो हप्तालाई विश्व स्तनपान सप्ताहको रुपमा विश्वभरी मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा जन्मेको १ घन्टा भित्र आमाको दूध प्रत्येक ५ जनामा ३ जनाले मात्रै खुवाउने गरेको देखिएकाले पनि स्तनपान सम्वन्धी चेतनामुलक कार्यक्रमहरुको आवश्यकता थप देखिएको छ ।

आमाको दूध कम्तिमा पनि जन्मेदेखि २ वर्षसम्म प्रयोग गरेमा मात्रै पनि संसार भरिमा लगभग वर्षमा ८ लाख २० हजार बच्चाहरुको ज्यान जोगाउन सकिने देखिन्छ । यस विषयमा विश्वव्यापी रुपमै जनचेतनाको अभाव देखिएकाले यो वर्ष सन् २०२२ को स्तनपान सप्ताहको नारा पनि “स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौँ” भन्ने रहेको छ ।