सप्तकोशी नदीको जलस्तर अस्वभाविक - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

सप्तकोशी नदीको जलस्तर अस्वभाविक


काठमाडौं । सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाएको छ ।

पूर्वी पहाडी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढाएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको बताए ।

प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाईअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए । वराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा शतर्कता तह पार गर्ने सम्भावना देखिएकालेसमेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको उनले बताए ।

प्रजिअ यादवले उक्त बहाव कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्यूसेकको हाराहारीमा पुग्नसक्ने देखिएकाले ब्यारेजमा समेत शतर्कता बढाइएकोे जानकारी दिए । शनिबार मध्याह्न १२ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख २ हजार ४ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको छ । यस्तै ब्यारेजका २९ वटा ढोका खोलिएको छ ।

यसैबीच कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले ‘हाइअलर्ट’ जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोशी आसपासको क्षेत्रमा हाइअलर्ट जारी गरिएको बताए ।

कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रूपमा लिने गरेका छन् । सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

यता, सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते र आसपास ठूलो वर्षा भएको छ। यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ।