एनआरएनए सिइओलाई नियमावली विपरित पारिश्रमिक ! - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

एनआरएनए सिइओलाई नियमावली विपरित पारिश्रमिक !


काठमाडौं । गत वैशाखदेखि रिक्त गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ)मा रवि किरण अधिकारी नियुक्त भएका छन् । उनले आफ्नो पदभार पनि सम्हालिसकेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुल आचार्यका अनुसार संघद्धारा गठित छनोट समितिको सिफारिशको आधारमा अधिकारीलाई संघले शुक्रवार नियुक्ति दिएको हो ।

संघका महासचिव गौरीराज जोशीले सिइओ पद लामो समयदेखि रिक्त हुँदा काम पेन्डिङमा रहेको अब अघि बढ्ने बताए । उनले भने ‘काम धेरै बाँकी छन् , धेरै अलमल गर्ने समय थिएन् त्यसैले आजैबाट संघको कार्यालय सम्माल्ले गरि नियुक्ति दिएका छौं’ । प्रमुख कार्यकारी निर्देशक (सिइओ) का लागि ४ जना उम्मेदवारले शनिवार अन्तिम अन्तरवार्ता दिएका थिए ।

मासिक करिब २ लाख तलव, गाडी र भत्ता सहितको सो आर्कषक पदको लागि राजेन्द्र कुमार राउत, अग्नि प्रसाद उपाध्याय (अनिल), बन्दना शर्मा र रवि किरणले अन्तरवार्तामा सहभागी भएका थिए । छनोट समितिले अन्तिममा अधिकारी र राउतको नाम सिफारिश गरेको थियो ।

सिइओ छनोट समितिमा कार्यसमितिबाट अध्यक्षत्रय कुल आचार्य, रवीना थापा, डा.बद्री केसी, महासचिवद्वय डा. केशव पौडेल, गौरीराज जोशी र उपाध्यक्ष महेश श्रेष्ठ थिए। तर सिइओ नियुक्ति नियुक्ति नियमविपरित भएको आरोप लागेको छ । नियमावली विपरित सिइओलाई पाँच सय प्रतिशतभन्दा बढी तलब भत्ता दिने गरी नियुक्ति गरिएको भन्दै केही अभियन्ताहरुले आपत्ति जनाएका छन् ।

संघको नियमावलीमा सिइओले पारिश्रमिकको रुपमा एक लाख ४८ हजार तीन सय ६५ रुपैयाँ पाउनु पर्ने उल्लेख छ । तर उनलाई इन्धन भत्ता ३० हजार महंगी भत्ता ३१ हजार सात सय १६ र छुट्टै खानाभत्ता १० हजार रुपैयाँ थप दिने निर्णय गरिएको छ ।

यसअघि महङ्गी भत्तामा पाँच हजार, इन्धन भत्ता पाँच हजार, दिने गरिएको थियो । यस्तै, खाजाभत्ता ३७ सय दिँदै आइएको थियो । कर्मचारीसम्बन्धी नियमावलीअनुसार भत्ता र आधारभूत तलबको पुनरावलोकन संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालय (आइइएस)ले मात्र गर्न सक्ने प्रावधान रहेको जनाइएको छ ।