डोजर लिएर बालेन्द्र मैदानमा - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

डोजर लिएर बालेन्द्र मैदानमा


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)को सक्रियता केही साता यतादेखि फेरिएको छ । उनी महानगरभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई उनले तिब्रता दिएका छन् । संरचना हटाउन अटेर गर्नेहरुलाई डोजर लगाएर हटाउन थालिएको छ ।

यस क्रममा महानगरले बुधबार उपत्यकाको सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका संरचना पनि भत्काएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएपछि महानगरले खिचापोखरी क्षेत्रका संरचना भत्काएको हो । मेयर बालेन्द्रकै उपस्थितिमा डोजर लगाएर अनधिकृत संरचना हटाउन थालिएको हो ।

रंजनागल्लीको कोजी कम्प्लेक्स र न्यूरोडको केषा प्लाजालाई पुनः मिति दिएर महानगरको टोली फर्किएको छ । त्यस्तै थापाथलीस्थित नर्भिक अस्पतालको भवन भत्काउन पनि निर्देशन भएको छ ।

अस्पताल भवनको पश्चिमतर्फ बनेका संरचनाहरू (क्यान्टिन भवनलगायत) नेपाल सरकारसँग भएको सम्झौताविपरीत र नक्सा पास नै नगराई निर्माण गरेको भन्दै त्यस्तो आदेश बालेनले दिएका हुन् ।

नेपाल सरकारको नाममा दर्ता कायम रहेको कित्ता नम्बर २०८५, क्षेत्रफल १–८–१–१ को उक्त जग्गा नर्भिक अस्पतालले लिजमा लिई संरचनाहरू निर्माण गरेर अस्पताल सञ्चालन भएको महानगरको ठहर छ ।

त्यतिमात्र नभइ महानगरले अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल हटाउने अभियान पनि शुरु गरेको छ । सवारीसाधनको पार्किङ गर्ने अनुमति लिए पनि ती ठाउँमा व्यापार, व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले यसअघि सूचना प्रकाशित गरेर समय तोकेको थियो।

अटेर गरेर पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो। सोमबारदेखि महानगरले बानेश्वरलगायत क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा रहेका पसल हटाउन सुरु गरेको छ। मेयर बालेन साहसहितको टोली अन्डरग्राउन्ड पार्किङ क्षेत्रको अनुगमनमा पनि हिंडिरहेका छन् ।

"