बयानमा चोलेन्द्र शमशेरः जवाफका नाममा आरोप - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

बयानमा चोलेन्द्र शमशेरः जवाफका नाममा आरोप


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिन पनि महाभियोग सिफारिस समितिमा जवाफ दिएका छन् । दोस्रो दिन उनलाई दुईवटा मात्र प्रश्न सोधियो । समितिका सदस्यहरुले विहीबार उनलाई दुईवटा प्रश्न मात्र सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । पहिलो दिन बुधबार ४ वटा प्रश्नको जवाफ दिएका थिए । अरु प्रश्न आइतबार सोधिने भएको छ ।

उनलाई बिहान ११ बजे महाभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरबारमा बोलाएको थियो । गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो ।

बयानका क्रममा उनले महाभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका छन् । जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गरे । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबीसमेत गरे । उनले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए ।

जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गरे ।जबराले पूर्व प्रधानन्यायाधीशहरू, सर्वोच्चका बहालवाला न्यायाधीशहरू, नेपाल बारदेखि सर्वोच्च बारका पदाधिकारीहरू र वरिष्ठ अधिवक्तासम्मलाई मुछेका छन् ।