गठबन्धन सरकारले देशलाई बर्बादीको दिशातिर लग्यो - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

गठबन्धन सरकारले देशलाई बर्बादीको दिशातिर लग्यो


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धन पदको किनबेचमा लागेको बताएका छन् । गठबन्धन सरकारका कारण देशको अवस्था भयावह रहेको उनले बताए । अहिलेको अधोगतिलाई रोक्न नसके देश बर्बादीतिर जाने भन्दै अध्यक्ष ओलीले चिन्ता व्यक्त गरे ।

मोरङको विराटनगरमा शनिबार आयोजित नेपाल बुद्धिजिवी परिषद् १ नम्बर प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको भाग्य र भविष्यका लागि मंसिर ४ को चुनाव निक्कै महत्वपूर्ण रहेको अध्यक्ष ओलीलेब बताए । देशलाई बचाउन र विकासको गतिलाई अगाडि बढाउन मंसिर ४ को चुनाव एमालेले जित्नैपर्ने बताए । गठबन्धन सरकारले देशलाई बर्बादीको दिशातिर लगेको भन्दै उनले अब देशलाई बचाउन एमालेको बहुमतको सरकार बन्नैपर्ने बताए ।

गठबन्धन सरकारका मन्त्रीहरुको संरक्षणमा नै देशका हरेक क्षेत्र अहिले ध्वस्त भइरहेका भन्दै अध्यक्ष ओलीले चिन्ता व्यक्त गरे । गठबन्धन सरकारका कारण देशमा महंगी बढेको, अर्थतन्त्र ध्वस्त भएको,कुशासन बढेको, गठबन्धनले जे पनि गर्न पाइन्छ भन्ने अहंकार र दम्भ बढेको,सबैतिर सेटिङ चलिरहेको, विश्वविद्यालयमा लगातारको तालाबन्दीले विद्यार्थीको भविष्य अन्यौलमा परेको उनले बताए ।

अगाडि अगाडि गुण्डा र पछाडी पछाडी प्रहरी लगाएर त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्ने काम भइरहेको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाए । कांग्नेसको लेटरप्याडमा नक्कली घाइते खडा गरिएकाले मुद्दा फिर्ता लिइ पाउँ भन्ने र प्रहरीलाई सो मुद्दा वारदात भइहालेपनि यो मुद्दा फिर्ता गर्दिनु ठिक छ भन्ने जस्ता गतिविधि भइरहेको बताए ।

त्यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनसँग कुनै सिद्धान्त, विचार, दृष्टिकोण, कार्यक्रम र गन्तव्य नभएको भन्दै यसलाई एमाले विरोधी ‘अपराधीहरू’को षडयन्त्रपूर्ण डफ्फा भएको आरोप लगाएका छन् ।

शनिबार एमालेको मोरङ–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा उनले गठबन्धन एमालेको विरोधमा केन्द्रीत भएर निर्माण भएको तर्क गरे । गठबन्धनको मुख्य उद्देश्य एमालेलाई सिध्याउनु रहेको पोखरेलको विश्लेषण छ ।

पोखरेलले एमालेका नेताहरूले अर्को गठबन्धन हुन्छ कि हुँदैन भनेर सोध्ने गरेको भन्दै स्थानीय आवश्यकता अनुसार जुनसुकै सम्भव भएको शक्तिसित तालमेल हुनसक्ने बताए । उनले चुनावमा एमालेले बहुमत ल्याउने दावी समेत गरे ।