काठमाडौं उत्रिएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली को भ्रमण तालिका - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

काठमाडौं उत्रिएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली को भ्रमण तालिका


काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि झान्शु नेपाल आइपुगेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

उनी विशेष विमानबाट सोमबार अपराह्न साढें ३ बजे काठमाडौं उत्रिएका हुन् । अध्यक्ष लीले चारदिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग उनले भेट गर्नेछन् ।

सभामुख सापकोटा र अध्यक्ष लीले सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार नै सभामुख सापकोटाले अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गरेका छन् ।

अध्यक्ष लीको नेतृत्वमा छ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।

कोरोना संक्रमणपछि चिनियाँ कम्युनिस्ट पार्टीको ७ सदस्यीय पोलिटब्युरो स्थायी कमिटीस्तरका नेताबाट भएको यो पहिलो विदेश भ्रमण हो । भ्रमणमा नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने विषयमा विशेष छलफल हुनेछ । उनले मंगलबार बिहान सवा ९ बजे बानेश्वरस्थित संसद् भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ भने मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम निश्चित भएको छ ।
बुधबार दिउँसो भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शिष्टाचार भेटवार्ता गर्नेछन् ।