गठबन्धनको विरोध गरेका ओली लोसपासँग गठबन्धनको कसरतमा - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

गठबन्धनको विरोध गरेका ओली लोसपासँग गठबन्धनको कसरतमा


काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँड मिल्न नसकिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । तर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एमालेले गठबन्धन गर्न लागेको चर्चाकाबीच पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले लोसपातर्फ इंगित गर्दै तालमेल हुन सक्ने संकेत गरे ।

नेकपा एमालेले जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कसैसंग गठबन्धन नगर्ने बताएका हुन् ।

एमाले कसैको सहारामा चल्ने पार्टी होइन, पूर्वप्रधानमन्त्री ओलीले भने ‘एमाले एक्लै गठबन्धनविरुद्ध काफी छ, कसैको सहारा चाहिदैन ।’ लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित हुँदैन त्यसैले एमाले गठबन्धन गर्दैन, ओलीले भने ‘कुनै कुनै दलसँग तालमेल हुन सक्छ, ‘कुनै कुनै दललाई तालमेलको नाममा सहारा भने दिन सकिन्छ ।’

गठबन्धन बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका ओलीले एमालेसँग एक्लै भिड्नु गाह्रो रहेको बुझेर नै कांग्रेस माओवादीको सहारामा गठबन्धन बनाएर भिडिरहेको छ । गठबन्धनका नेताहरूलाई मंसिर ४ गतेपछिको परिणाम थाहा छ, ‘त्यसैले शेरबहादुरजी र प्रचण्डजीको अनुहारमा अहिले मुस्कान छैन ।’

सेटिंगमा राजनीति गर्ने गठबन्धनका नेताहरूलाई नेपाली जनताले अबको निर्वाचनमा विश्वास नगर्ने दावी गरे । गठबन्धनका दलमा लागेकाहरू फोहोरी राजनीतिमा लागेका छन्, त्यस्ता फोहोरी राजनीति गर्नेहरूलाई नेपाली जनता कदापी जिताएर नपठाउने ओलीको भनाई थियो । उनले भने ‘सुनको सिक्का फोहोरमा झर्यो भने त्यो सिक्का फेरी जानकी मन्दिरमा अर्पण गर्न मिल्दैन, गठबन्धनमा लागेका नेताहरू फोहोरमा झरि सकेका छन्, यिनीहरूलाई भोट दिनु हुँदैन ।’ नागरिकता विधेयकको प्रसङ्गमा बोल्दै ओलीले नागरिकता समस्या समाधानका लागि अहिले पनि एमाले नै सबैभन्दा बढी गम्भिर रहेको दाबी गरेका छन् ।