चोलेन्द्रशमशेरको बयान १७४ पेजमा तयार, हस्ताक्षर गर्न आनाकानी - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

चोलेन्द्रशमशेरको बयान १७४ पेजमा तयार, हस्ताक्षर गर्न आनाकानी


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान १७४ पेजमा तयार भएको छ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले पाँच दिनसम्म लिएको ४३ प्रश्नको जफाव समितिले १७४ पेजमा तयार पारेको हो ।

शुक्रबार समितिको बैठकमा सबै एक एक लाइन पढेर सुनाएर हस्ताक्षर गराइएको हो । सबै पेजमा एक एक लाइन पढेर हस्ताक्षर गराउँदा सात घन्टाभन्दा बढी समय लाग्ने समिति सदस्य मीन विश्वकर्माले बताए ।

बैठकमा जबरासँग पूरक प्रश्न सोध्ने समितिको तयारी थियो । तर, एमालेका सांसदहरूले पूरक प्रश्न सोध्न नपर्ने अडान लिएका थिए । समितिमा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका गरी ११ सांसद छन् ।

बिहीबार समितिले जबराले मुछेका वकिलहरूसँग छलफल गरेको थियो । उनीहरूसँग सोधिएका प्रश्नको उत्तर महाभियोग प्रतिवेदनमा उल्लेख गर्ने कि नगर्ने भन्ने निर्णयमा समिति पुगिसकेको भने छैन ।

यता, समिति बैठकमा जबराले आफूले बोलेको भिडियो र अडियो आफ्नै हो भनेर हस्ताक्षर गर्ने, तर प्रत्येक पेजमा नगर्ने अडान लिएका थिए । तर, समितिको प्रतिवेदनमा बयानमा हस्ताक्षर गर्नैपर्ने समितिको अडानपछि हस्ताक्षर गर्न उनी राजी भएका हुन् ।

बैठकमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि समितिको कार्यकक्षमा प्रत्येक पेज पढेर हस्ताक्षर गराउन लागिएको छ । समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर समितिले जबराको बयान १७४ पेजमा उतारेको छ । हस्ताक्षर सम्पन्न गरेपछि पूरक प्रश्न सोध्ने तयारी छ ।