२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची स्वतः खारेज - रुपान्तरण
 २०७९ आश्विन १०, सोमबार    

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची स्वतः खारेज


काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने जनाएको छ ।

शुक्रवार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय भएको जानकारी दिए ।

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकमार्फत बन्दसूची असोज २ र ३ गते बुझाउने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको पत्र र राजनीतिक दलहरुसँगको बैठकबाट प्राप्त सुझावका आधारमा आयोगले २०७४ को बन्दसूची स्वतः खारेज गर्ने निर्णय गरेको हो ।

आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, सङ्घीय संसद् राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनीतिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।