चोलेन्द्र शम्शेर र विद्यादेवीको बचाउमा केपी ओली - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

चोलेन्द्र शम्शेर र विद्यादेवीको बचाउमा केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रपति विद्यादेवी भण्डारीकोको बचाउमा उत्रिएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म डोरमा राखेकोप्रति आपत्ति जनाए ।

उनले अहिले संसद्को नै अवधि सकिएको भन्दै महाभियोग पनि सकिएको बताए । उनले प्रधानन्यायाधीशको छोरी घरबाट बाहिर निस्कँदा दिनभरी प्रहरी कष्टडीमा राखेको भन्दै गठबन्धनले लोकतन्त्रकै उपहास गरेको बताए । उनले व्यक्ति प्रधानन्यायाधीश कस्तो भन्नेमा आफू नजाने भन्दै कानुनअनुसार सबैसँग व्यवहार हुनुपर्ने बताए । ओलीले प्रधानन्यायाधीशको सुरक्षा खोसिएकोमा पनि आपत्ति जनाए ।

त्यस्तै, ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन् । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बिहीबार पार्टी प्रवेश गराउँदै उनले नागरिकता विधेयकमा विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने कि भनेर दिएको सन्देशमा पाखुरा बजारेर गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाए ।

‘उहाँहरू ९गठबन्धनका नेता० जनतालाई अल्मल्याउन चाहनुहुन्छ । उहाँहरूको मस्तिष्क सिद्धियो कि जस्तो लाग्छ, आजकल मसलबाट सोच्नुहुन्छ । राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो । नगर्ने (दुवै पाखुरामा हात बजार्दै इसारा गर्दै) उहाँहरूको त्यस्तो जवाफ छ । संसदमा आएर होइन अनधिकृत स्थानमा बसेर संविधानले नचिनेका मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो ।’

गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु आफ्नो महानता ठानेको भन्दै ओलीले भने, ‘गठबन्धनले आफ्नो महानता के ठानेको छ भने अपमान गर्नु । राष्ट्रपतिको अपमान आफ्नो महानता ठानेको छ ।’ बदनियतका साथ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको आरोप लगाएका ओलीले ६ महिनासम्म प्रस्तावलाई अगाडि नबढाएर दराजमा थन्क्याएर राखेको टिप्पणी गरे ।