कांग्रेसमा चुनावी झगडा, विद्रोह र विग्रहको संकेत - रुपान्तरण
 २०८१ जेठ ८, मंगलबार    

कांग्रेसमा चुनावी झगडा, विद्रोह र विग्रहको संकेत


काठमाडौं । नेपाली कांग्रेसमा विवाद बढेको छ । टिकट वितरणमा एकलौटी भएको भन्दै डा.शेखर कोइराला पक्ष आन्दोलनमा छ । संस्थापन पक्षमले माग सम्बोधन संकेत गरेको छ । मंगलबार दिउँसो पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दैै उनीहरुका माग सम्बोधन नगर्ने संकेत गरेका हुन् ।

कोइराला समूहले समान न्यायको माग गरिरहँदा नेता महतले भने अन्याय नभएको दाबी गरे । कोइराला समूहले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूचीमा अन्याय भएको र यसलाई सच्याउनु पर्ने साथै प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षमा ४० प्रतिशत सिट पाउनु पर्ने माग गरिरहँदा प्रवक्ता महतले समानुपातिकमा सहमतिबाटै बन्द सूची राखिएको दाबी गरे ।

उनले भने, ‘यसमा कुनै सत्यता छैन । सम्पूर्ण आम सहमतिबाट पदाधिकारी, पूर्व पदाधिकारीहरु, संसदीय बोर्डका सदस्यहरु, प्रदेशका सभापतिहरुलाई समावेश गरेर प्रदेश प्रदेशका अग्रणी नेताहरु सामेल भएर सूची पेश गरिएको छ । कतिपय त्रुटीहरु छन् । तर एउटा पक्षलाई उठाएर अर्को पक्षलाई कमजोर बनाइयो भन्ने कुरामा कुनै पनि सत्यता छैन ।’

उनले कोइराला पक्षको आरोप केवल आरोपमात्रै भएको भन्दै अगाडि भने, ‘अभिव्यक्तिहरु बान्छनीय हैनन् । सम्पूर्ण निर्णयहरु सहमतिबाटै भएका छन् । कुनै पक्ष या विपक्षमा गरिएको निर्णय होइन । यो शुद्ध प्राविधिक हो । गठबन्धन पूरा नभएकाले कतिपय अवस्थामा साथीहरुलाई परिमार्जन गर्न सकिन्छ ।’

कोइराला समूहले एकलौटी ढंगले निर्णय गरिएको आरोप लगाइरहँदा डा.महतले स्पष्ट पार्दै भने, ‘जो साथीहरु संलग्न हुनुहुन्छ उहाँहरुलाई पनि थाहा छ यो एकलौटी तरिकाले गरिएको हैन ।’ यति भनेपछि तपाईहरुले बुझिसक्नु भएको छ । यो सम्पूर्ण विधिविधानअनुसार भएको छ । कुनै विमति बिना भएकाले त्यो भन्दा अन्यथा कुनै अभिव्यक्ति आउँछ भने त्यसले पार्टीलाई हित गर्दैन ।’

उनले समानुपातिकको सूची त्रुटीहरु सच्याउने समय निर्वाचन आयोगले दिएको भन्दै अगाडि भने, ‘कतिपय व्यवस्थित हुन सक्या छैन । हामी मिलाउँछौं ।’ उनले आफू पनि बन्द सूचीमा परेको हो ?भन्ने प्रश्नमा केही बोल्न चाहेनन् । भने, ‘सम्पूर्ण बन्द सूची हो यसमा चर्चा गर्नुपर्ने आवश्यकता छैन ।’

यत, संस्थापनइतर समूहले आसन्न निर्वाचनको टिकट वितरणमा सम्मानजनक र न्यायोचित निर्णयका लागि ‘निर्णायक धक्का’ दिने तयारी गरेको छ ।
संस्थापन पक्षविरुद्ध निरन्तर दबाब बढाउँदै लगेको सो समूहका दोस्रो तहका नेताहरुले टिकट वितरण न्यायोचित र सम्मानजनक नभए समूहका कसैले पनि चुनाव नलड्ने निर्णय गर्न आन्तरिक दवाव बढाएका छन् । समानुपातिक सूचीमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै सूची सच्याउन माग गरेका नेताहरुले संस्थापन पक्षले गल्ती नसच्याए विद्रोह गर्ने तयारी थालेका छन् । संस्थापन इतर समूहका केही शीर्ष नेताहरुले संस्थापन पक्षले सम्मानजनक व्यवहार नगरे आफू पनि चुनाव नलड्ने प्रतिवद्धता जनाएका छन् ।

"