डेंगी बिरामीको संख्या २८ हजार नाघ्यो, ३८ जनाको मृत्यु - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

डेंगी बिरामीको संख्या २८ हजार नाघ्यो, ३८ जनाको मृत्यु


काठमाडौं । नेपालमा डेंगीका नयाँ बिरामी थपिनेक्रम बढ्दो छ । अस्पतालहरुमा विरामीहरुको चाप थामिनसक्नु छ । पछिल्लो चौबीस घण्टामा देशभर ५४० जना डेंगीका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगी बिरामीको संख्या २८ हजार १०९ पुगेको छ ।

बितेको चौबीस घण्टामा डेंगीका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै यस वर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगीको बिरामी भेटिएका थिए ।

त्यसपछि प्रत्येक वर्ष डेंगीका बिरामी भेटिंदै आएका छन् । यस वर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगीका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगीका बिरामी बामगती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ९७५ जना डेंगीका बिरामी भेटिइसकेका छन् ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदुरपश्चिम प्रदेशमा ८५० जना डेंगीका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

यता, प्रधानमन्त्री शेरबहादुर देउवाले हाल महामारीका रुपमा देखा परेका रोगको नियन्त्रणका लागि सरकार गम्भीर भएर लागिरहेको दाबी गरेका छन्।
देउवाले स्वास्थ्य पूर्वाधारहरूको उचित व्यवस्था गर्दै महामारीका रुपमा देखिएको कोरोना र डेंगु रोगको निणन्त्रणका लागि सरकार गम्भीर भएर लागेको बताएका हुन्।

उनले कोरोना र डेंगु रोगबाट ज्यान गुमाएकाहरू प्रति श्रद्धान्जली अर्पण गर्दै बिरामीहरूको स्वास्थ्यलाभको कामना गरे। रोग नियन्त्रणका लागि सबै चिकित्सकहरूको सरकारलाई साथ हुने विश्वास पनि देउवाले व्यक्त गरे।