नेपाल ग्रीन हाइड्रोजनको हब बन्न सक्छ - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

नेपाल ग्रीन हाइड्रोजनको हब बन्न सक्छ


काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम अर्बपति शेष घलेले नेपालमा नौलो क्षेत्रमा लगानीको तयारी गरिरहेका छन् । उनको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको हो । सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२’ को प्रमुख आयोजकसमेत रहेको घलेको एमआइटी ग्रुपले ग्रीन हाइड्रोजनमा लगानीका लागि तयारी गरेको हो।

घलेले ऊर्जाको वैकल्पिक स्रोतको रूपमा हाइड्रोजनको प्रयोग संसारभर नै भइरहेको सन्दर्भमा आफूहरूले यसमा लगानी गर्न लागेको जानकारी दिए । उनका अनुसार लगानीका लागि हाल प्रारम्भिक चरणको काम भइरहेको छ। काठमाडौंको दरबारमार्गमा होटल शेराटन निर्माण गरिरहेको घलेको एमआइटी समूहले ऊर्जाका वैकल्पिक स्रोतका रूपमा प्रयोग हुन थालेको हाइड्रोजनका लगानी गर्नका लागि तत्काल नीतिगत अभाव भए पनि क्रमशः त्यसको परिपूर्ति हुने बताए ।

संसारका दुई अर्ब मानिसको स्रोतका रूपमा रहेको हिमाल पग्लन थालेको, हिमनदीमा त्यस्तै समस्या देखिएको भन्दै उनले सामाजिक दायित्वका साथ आफूहरू यस क्षेत्रमा लगानीका लागि आतुर रहेको बताए । पछिल्ला दुई वर्ष कोरोनाका कारण संसारभर नै लकडाउनमा परेको बेला आफू र आफ्नो समूहले ऊर्जाको वैकल्पिक स्रोतमा लगानी गर्ने सोचको विकास गरेको जानकारी दिँदै व्यवसायी घलेले भने, “नेपाल ग्रीन हाइड्रोजनको हब बन्न सक्छ। त्यसका लागि आजैदेखि हामी सबैले पहल गरौँ।”

हाइड्रोजन अर्थतन्त्रको उदय हुँदै गर्दा नेपाल त्यसको हब बन्न सक्ने भएकाले विदेशी लगानीकर्ताको चासो समेत बढेको व्यवसायी घलेको भनाइ छ। उनले भारतको अडानी समूहले पनि ग्रीन हाइड्रोजनमा लगानी गर्न खोजेको र सो समूहसँग पनि सहकार्य हुन सक्ने जानकारी दिए ।