काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताएका छन् ।
बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताएका हुन् ।
‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि ठूलो लडाईं जितियो भनेर रिल्याक्स गरेको अवस्थामा फेरि अदालतले पार्टी फुटाएर पहिलाकै अवस्थामा ल्याइदियो,’ उनले भने, ‘हामीलाई फेरि एकपटक टाउकोमा ड्याम्म हानेको जस्तो भाछ ।’
अध्यक्ष दाहालले अहिलेको अवस्थालाई जनयुद्धसँग पनि जोडे । ‘पहिला जनयुद्धमा एउटा मोर्चा जित्यो भने साथीहरु खुसी भएर नाचगान गर्दै हिँडेको बेला दुस्मनले घेरा हालेर फेरि नराम्रो क्षति हुन्थ्यो,’ उनले भने, ‘हारेपछि फेरि राम्ररी सोचेपछि फेरि जितिन्थ्यो ।’
उनले नेकपा हुँदा पार्टीभित्रै संघर्ष गरेर आफूले केपी ओलीको बुर्जुवा हेडक्वाटरमा १९ पेज लामो दस्तावेजको बम हानेको बताए । उक्त बम हानेपछि लडाईं सुरु भएको बताउँदै उनले अहिले महामारी चलिरहेको टिप्पणी गरे । उनले भने, ‘मैले १९ पृष्ठ लामो दस्तावेजको बम हानेको थिएँ, उन(केपी) ले जनप्रतिनिधिको संस्थामाथि नै बम हाने ।’
प्रचण्डले कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने तयारी भइरहेको पनि बताए । प्रधानमन्त्रीको आलोपालो नेतृत्वको लागि आफ्नो दल र कांग्रेसबीच छलफल भइरहे पनि निष्कर्षमा नपुगेको बताए । उनले आफू र आफ्नो दल प्रधानमन्त्रीमा दाबी नरहेको पनि प्रष्ट पारे । फरक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपा एमालेभित्र माधवकुमार नेपाल समूहलाई अलि धेरै सकस परेको टिप्पणी गरे ।