अर्थतन्त्र सुधारका लागि नयाँ कार्यविधि - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

अर्थतन्त्र सुधारका लागि नयाँ कार्यविधि


काठमाडौं । सरकारले निर्यातमा नगद अनुदान दिने गरी निर्यात अनुदान कार्यविधि जारी गरेको छ । करिब तीन महिना ढिलो गरी सरकारले निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने कार्यविधि जारी गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले निर्यात बढाउन आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेका थिए । उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङजस्ता सेवा पहिचान गरी निर्यात गर्नेले ८ प्रतिशत नगद अनुदान पाउने कार्यविधिमा उल्लेख छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजेटको व्यवस्थाअनुसार ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्याविधि, २०७९ जारी गरेको हो । सरकारले बजेटमा व्यवस्था नगरिए पनि कार्यविधिमा कत्था, रोजिन तथा टर्पेन्टाइन र प्लाइउड निर्यातमा पनि नगद अनुदान पाउने सूचीमा समावेश गरेको छ । वस्तु तथा सेवा निर्यात गर्दा मूल्य अभिवृद्धि (भ्यालु एडिसन) अनुसार न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरिएको छ ।

निर्यात अनुदान सुविधा लिनका लागि कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गरिएको हुनैपर्छ । सरकारले कार्यविधिमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गरेका वस्तुको निर्यातमा ४ प्रतिशत, कम्तीमा ५० प्रतिशत मूल्य अभिवृद्धि गरिएको वस्तु निर्यातमा ५ प्रतिशत, ७० प्रतिशत मूल्य अभिवृद्धि भएको वस्तु निर्यातमा ६ प्रतिशत, राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्कमा दर्ता भएको कम्पनीले निर्यात गरेमा ७ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ ।

५० करोड रुपैयाँभन्दा माथिको निर्यातमा सीधै ८ प्रतिशत नगद अनुदान प्राप्त गर्न सकिनेछ । तर, पहिलो ५० करोड रुपैयाँसम्मको निर्यातमा भने माथि उल्लिखित सर्तहरू लागू हुनेछन् । सरकारले २०६७/०६८ को बजेटमार्फत निकासी प्रवद्र्धन गर्नका लागि निर्यातमा नगद अनुदान दिने व्यवस्था गरेको थियो । तीन वर्षपछि ०७० सालमा कार्यविधि बनाएपछि निकासीमा नगद अनुदान दिँदै आइरहेको छ ।

त्यस्तै यता, बढ्दो व्यापारघाटा नियन्त्रण र अर्थतन्त्र बलियो बनाउने भन्दै सरकारले विलासिताका वस्तु अन्तर्गत गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । अर्थतन्त्रका सुधारका उपाय सरकारले अपनाइरहँदा सरकारी निर्णय सर्वमान्य नभएको विश्लेषण गरिएको छ ।

सरकारले पुन चार प्रकारका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेपछि पुन मुलुकको अर्थव्यवस्था नाजुक रहेको निष्कर्ष निकाल्न सकिन्छ । ढुकुटीमा विदेशी मुद्राको सञ्चिति माथिको दबाव कायमै रहेको भन्दै विदेशी मदिरा, ३ सय डलर बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल, जीप, कार र भ्यान आयातको प्रतिबन्ध यथावत राखिएको छ । गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा लगाएको प्रतिबन्धलाई थप कडाई गर्दै सरकारले ३१ असार सम्म पुयाएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो । सुपारी तास, लेज, कुरकुरे लगायतका कृषिजन्य वस्तु यहि उत्पादन गर्न सक्ने वस्तु फूकुवा गर्दा सीमित वस्तु मात्र प्रतिबन्ध उचित नभएको अर्थविद्को विश्लेषण छ ।