राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक


काठमाडौं । पृथक र नौलो सुविधासहित नेपालमा राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक समारोहबीच दैनिक यात्रालाई सहज बनाउन यस्तो एप सार्वजनिक भएको हो ।

बेलायत बस्दै आएका व्यवसायी, समाजसेवी एवम एनआरएनए अभियन्ताद्वय इन्द्रहाङ लिङदेन र खुशी लिम्बु साथै नेपालका आइटी व्यवसायी तथा युवा अधिकारकर्मी दिवाकर अर्यालको संयुक्त लगानीमा नेपालमै पहिलो पूर्ण सवारी सुविधा भएको एप सार्वजनिक गरिएको हो । एनआरएनए आइसीसी अध्यक्ष डा.बद्री केसी र जाउँ गुरु प्रालिका अध्यक्ष इन्द्रहांङ लिङदेनले उक्त एपको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

जाउँ गुरु एपका प्रयोगकर्ताका लागि लोकेसन शेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्ती लगायतका अनलाइन पेमेन्ट सिस्टमको प्रयोग, २४ सै घण्टा कल सेन्टर सेवा लगायतका सुविधाहरु रहेका छन् । नेपालीको लागि नेपालमै बनाईएको एप भएकाले यस एप प्रयोगकर्ता र राईडरका लागि समेत एप प्रयोग गर्न सहज हुने जाउँ गुरु एपमा खुशी लिम्बुले जानकारी दिए ।

एपसँग आवद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्ने साथै चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बीमा, राइडर वा अरु जोकोहीले रिफर गरेवापत कमिसन पाउने व्यवस्था समेत गरिएको जाउँ गुरु प्रालिका अध्यक्ष लिङदेनले जानकारी दिए । एपमा आपतकालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि राखिएको उनले बताए ।

नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरुले मोटरसाईकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाउँ गुरुले भने त्यसका अलवा बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्याङ्कर र जीप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने प्रालिले जनाएको छ ।

संचालकहरुले एप सुरक्षित, स्मार्ट साथै बार्गेनिङ गरेर सेवा लिन सकिने बताएका छन् । प्रारम्भमा काठमाडौं उपत्यका भित्र मात्रै सीमित हुने यो सेवा भविष्यमा उपत्यका बाहिर पनि विस्तार गरिने संचालकहरुको भनाइ छ । एप सार्वजनिक कार्यक्रममा कलाकार दयाहाङ राई, नायिका करिश्मा मानन्धर, साहित्यकार उपेन्द्र सुब्बालगायतको उपस्थिति थियो ।

"