विजयकुमार गच्छदार र राजु गुरुङबारे अदालत बोल्यो - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

विजयकुमार गच्छदार र राजु गुरुङबारे अदालत बोल्यो


काठमाडौं । विजयकुमार गच्छदारसहित ९ जनाविरुद्ध परेको रिट खारेज भएको छ । गच्छदार, बिक्रम पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीविरुद्ध परेको रिट खारेज भएको हो ।

उनीहरुको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको हो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त रिट खारेज गरिदिएको हो । अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका नेताहरु प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

त्यस्तै यता, सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालीन अन्तरिम आदेश दिएको हो । गुरुङ बैंकिङ कसुरमा दोषी पाइएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

आफू विरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा निर्वाचन कार्यालयले आफूलाई सुनुवाइको मौका समेत नदिई उम्मेदवारी खारेज गर्ने निर्णय नमिलेको भन्दै गुरुङ सर्वोच्च अदालत गएका थिए । गुरुङसहित नेकपा झलनाथ खनालका छोरा निर्भीक खनाल सहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अन्जित विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरू विरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।

काठमाडौं जिल्ला अदालतले गुरुङ र खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोल समेतलाई बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो । उनीहरुले दुई करोड रुपैयाँ बराबरका आठ वटा चेक काटेकोमा ती सवै बाउन्स भएका थिए ।

 

"

"