बेलायतकी प्रधानमन्त्री लिजद्वारा राजीनामा - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

बेलायतकी प्रधानमन्त्री लिजद्वारा राजीनामा


काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले सत्तारुढ कन्जरभेटिभ पार्टीको लिडरबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले ल्याएका नीतिहरुले बेलायती अर्थतन्त्रमा उथलपुथल मच्चाएपछि पदभार सम्हालेको ६ हप्तामै उनले राजीनामाको घोषणा गरेकी हुन् ।

बिहीबार उनको डाउनिंग स्टीट कार्यालय बाहिर बोल्दै ट्रसले कन्जरभेटिभ पार्टीको लिडरका लागि चुनावी प्रतिस्पर्धामा रहेका बेला गरेको वाचा पूरा गर्न नसकेर पार्टीभित्रकै विश्वास गुमाएको स्वीकारेकी छन् ।

ुपरिस्थितिलाई ध्यानमा राख्दै कन्जरभेटिभ पार्टीले म निर्वाचित हुँदाको जनादेश पूरा गर्न सक्दिनँ। त्यसैले मैले कन्जरभेटिभ पार्टीको लिडरबाट राजीनामा दिँदैछु भनेर जानकारी दिन राजासँग कुरा गरेकी छु,’ उनले भनेकी छन् ।

कन्जरभेटिभ पार्टीले बेलायती इतिहासमा सबैभन्दा छोटो समयको प्रधानमन्त्री बन्ने ट्रसलाई प्रतिस्थापन गर्न अर्को हप्ताभित्र नेतृत्वको निर्वाचन गर्नेछ। यद्यपि, विपक्षी लेबर पार्टीले तत्काल आम निर्वाचनको माग गरेको छ ।