खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध


पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको सङ्ख्याका आधारमा ऐतिहासिक प्रतियोगिता भएको बताएका छन् । उनले खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

बिहीबार साँझ पोखरा रङ्गशालामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको आर्थिक अवस्था सुधार गर्दै खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। विश्वमा खेलकुदले राष्ट्रको सान, मान र इज्जत राख्ने भन्दै उनले खेलाडीको बीमा, मासिक वृत्ति र स्वास्थ्य उपचारको व्यवस्था सरकारले गर्दै आएको उल्लेख गरे ।

प्रतियोगितामा विजयी खेलाडीलाई बधाई दिंदै प्रधानमन्त्री देउवाले खेलाडीको उन्नति र प्रगतिको कामना गरे । उनले खेलकुद प्रतियोगितामा सहभागी केही खेलाडीको मृत्यु भएकोप्रति दुःख व्यक्त गरे । नियमित प्रतियोगिता हुन नसक्दा खेलाडी पलायनको समस्या देखिएको तर यस्ता प्रतियोगिताले खेलाडीले अवसर पाएको उल्लेख गरे ।