गठबन्धन राष्ट्रिय आवश्यकता - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

गठबन्धन राष्ट्रिय आवश्यकता


काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे ।

यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशितालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने बताउँदै उनले भने,‘सबैको समावेशीता नै राष्ट्रिय एकता हुन्छ, राष्ट्रिय एकताबाट नै देश बलियो हुन्छ । यो सबैको प्रतिनिधित्व हुने व्यवस्था हो ।’

गठबन्धनमा कुनै बहानामा शङ्का उपशङ्का गराउन नहुने बताउँदै उनले बोली तथा व्यवहारमा तिक्तता आउने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए । वर्तमानमा कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले पार्टी मिल्नुपरेको उनको भनाइ छ ।

गठबन्धनमा सबैको जीत भएको उल्लेख गर्दै उनले यसलाई कायम राख्दा सबैको अवसर आउने बताए । निर्वाचनमा जाँदा सबै पार्टीमा कसैले टिकट पायो या कसैले नपायो त्यसमा प्रवाह नगरी लाग्न आग्रह गर्दै उनले गठबन्धनको सरकार बनेमा अन्य विभिन्न अवसर उपलब्ध हुने उल्लेख गरे ।