रेमिट्यान्समा सुधार, एक खर्ब ८७ अर्ब चार करोड भित्रियो - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

रेमिट्यान्समा सुधार, एक खर्ब ८७ अर्ब चार करोड भित्रियो


काठमाडौं । नेपालमा रेमिट्यान्स(विप्रेषण)आप्रवाहमा उल्लेख्य प्रगति भएको छ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म रु एक खर्ब ८७ अर्ब चार करोड बराबरको विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आवको दोस्रो महिना सम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमलव आठ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११ दशमलव तीन प्रतिशतले वृद्धि भई रु एक अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको सङ्ख्या एक सय ७० प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७० दशमलव छ प्रतिशतले वृद्धि भई ३९ हजार एक ८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या चार सय २९ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १९ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु दुई खर्ब छ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ प्रतिशतले घटेको थियो ।