सगरमाथा क्षेत्रमा पर्यटक खचाखच - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

सगरमाथा क्षेत्रमा पर्यटक खचाखच


काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुन थालेको छ । पछिल्लो एक महिना असोजमा मात्रै १२ हजार ४ सय ५१ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक छ ।

सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था छ । सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने पर्यटकको संख्या बढेसँगै यस क्षेत्रका व्यवसायी उत्साहित छन् ।

यतिबेला जिल्लाको खुम्बु क्षेत्र पुग्ने पर्यटक दिनप्रतिदिन बढिरहेका छन् । ट्रेकिङको सिजन सुरु भएसँगै पर्यटन व्यवसायी पनि लुक्ला पुगेका छन् । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागतमा व्यस्त छन् ।

नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाका अनुसार होटल व्यवसायी व्यवसायमा निक्कै व्यस्त छन् भने सो क्षेत्रको बाटो, चौतारा तथा होटल लज पर्यटकले नै भरिभराउ बनेका छन् । दशैँको बेला खराब मौसमका कारण उडान नहुँदा पर्यटक आउन सकेका थिएनन् । मौसममा सुधार भएसँगै पर्यटकको लर्को लाग्न थालेको हो ।

लुक्लामा अहिले दैनिक ३२ वटा भन्दा बढी उडान हुने गरेको छ । उडानसँगै व्यस्ता बढेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले बताउनुभयो । खुम्बुमा वर्षको दुई पटक वैशाख, जेठ, असार र असोज कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । जोरसल्ले चेकपोष्टका कर्मचारीमा पनि व्यस्तता बढेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय बताउँछन् ।

लामो समय कोरोना कहरको चपेटामा परेको खुम्बुको पर्यटन व्यवसाय विस्तारै लयमा फर्किएसँगै होटल सञ्चालक तथा पर्यटन व्यवसायी उत्साही छन् । मौसममा सुधार भएकाले पर्यटकहरू पनि मनमोहक दृष्य अवलोकनमा रमाइरहेका छन् ।