राष्ट्रपति र प्रधानमन्त्रीले गरे छठी माताको पूजा - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

राष्ट्रपति र प्रधानमन्त्रीले गरे छठी माताको पूजा


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आज छठी माताको पूजा आराधना गरेकी छिन् । काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगी उनले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरिन् ।

त्यसअघि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधाना एवं अर्घ्यदान गरेकी थिइन् ।

अस्ताउँदो सूर्यको पूजा आराधना गर्न कमलपोखरीलाई झकिझकाउ पारिएको थियो । कमलपोखरीमा श्रद्धालु, बर्तालु र भक्तजनको बाक्लो उपस्थिति थियो । पूजास्थलमा आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षासेवी, उद्योगी व्यवसायीलाई सम्मान गरेकी थिइन् ।

पूजास्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले साँझ थापाथलीस्थित बाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी छठी माताको पूजा अर्चना गरेका छन् । प्रधानमन्त्री देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिन्छ । छठ पूजा समिति कुपण्डोल (ललितपुर) का अध्यक्ष राजीव सिन्हाले बर्तालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुने जानकारी दिए ।