निर्वाचन सुरक्षामा झन्डै तीन लाख सुरक्षाकर्मी, तीन सुरक्षा घेरा निर्माण - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

निर्वाचन सुरक्षामा झन्डै तीन लाख सुरक्षाकर्मी, तीन सुरक्षा घेरा निर्माण


काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दलागि सुरक्षा तयारी तिब्र पारिएको छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यसपटक निर्वाचन सुरक्षामा झन्डै तीन लाख सुरक्षाकर्मीहरु परिचालित छन् ।

तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालित छन् । अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जनाएको छ । मतदानस्थलको चुनौतीका आधारमा विश्लेषण गरेर निर्वाचन सुरक्षा चुस्त पारिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

मन्त्रालयले एकीकृत सुरक्षा योजना बनाएर तीन सुरक्षा घेरा निर्माण गरी निर्वाचनको विशेष सुरक्षा योजना तयार पारेको छ । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ हुनेछन् ।आआफ्नो सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी पूरा गर्न तीनवटै सुरक्षा निकाय सक्रिय छ । सुरक्षा निकाय तल्लीनसाथ लागेको छ ।

निर्वाचन आयोगमा रहेको निर्वाचसम्बन्धी संयुक्त अपरेसन टोलीले समेत एकीकृत रुपमा काम गरिरहेको छ । त्यसका लागि नेपाल प्रहरीबाट एसएसपीको नेतृत्वमा नौजनाको समूह छ । सामाजिक सञ्जाल लगायतका विभिन्न क्षेत्रमा निगरानी गर्ने काम गरिरहेको छ ।

चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कटिबद्ध रहेका नेपाल प्रहरीले जनाएको छ । ढुक्कसँग चुनावमा मत दिने वातावरण निर्माणमा नचुक्ने गरी सुरक्षा योजना बनाएको जनाइएको छ ।

विगतमा सुरक्षाले नसमेटेको क्षेत्रमा समेत अहिले प्रहरी परिचालित छ । अस्थायी चौकी खडा गरेरै निगरानी बढाइएको छ । सबै आवश्यक क्षेत्रमा म्यादी प्रहरी पनि परिचालित छन् ।

अलिकति समस्या उम्मेदवार र दलका प्रतिनिधिबीचमा हुने विवादहरु नै रहेको प्रहरीको निष्कर्ष छ । विगत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा त्यही भएको थियो । यसपटकको निर्वाचनमा नेपाल प्रहीतर्फ ७१ हजार ६ सय ९३ जनशक्ति खटाइएको छ । त्यसका साथै एक लाख १५ हजार म्यादी प्रहरी छन् । काठमाडौँबाट यही २५ गतेसम्ममा झन्डै १२ हजार थप मद्दत विभिन्न प्रदेशमा पु¥याइन लागिएको छ ।

निर्वाचनमा तेस्रो घेराको सुरक्षा पहरामा रहेको सशस्त्र प्रहरीले ३५ हजार जनशक्ति परिचालन गरेको जनाएको छ । आवश्यक जनशक्ति निर्वाचनमा खटिइसकेका छन् भने केही तयारी अवस्थामा रहेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको सुरक्षाको जिम्मा पनि सशस्त्र प्रहरीलाई छ । त्यसका साथै दोस्रो घेरामा रहेर सुरक्षा दिने जिम्मेवारी सशस्त्र प्रहरी बललाइ छ ।

नेपाली सेनाले यसपटकको निर्वाचनमा कुल ७५ हजार जनशक्ति परिचालन गर्दैछ । त्यसमध्ये आवश्यकताका आधारमा परिचालन हुनेछन् । सबै जनशक्ति परिचालन हुने गरी तयारी अवस्थामा रहेको छ ।

विगतको अनुभवका आधारमा एकीकृत सुरक्षा योजना मुताबिक सेनालाई प्राप्त म्यान्डेडअनुसार सबै जिल्लामा सेनाले निगरानी थालेको छ । जेल, विमानस्थललगायत सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षाको जिम्मा लिइरहेको ठाउँँमा समेत सेनाले जिम्मा लिइसकेको पनि उनले बताए । त्यसका साथै मतपत्र छपाइ भण्डारण तथा ढुवानीसम्बन्धी सुरक्षाको जिम्मा सेनाको छ । सेना निर्वाचनको तेस्रो घेरामा रहने सुरक्षा दस्ता हो ।