काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ । आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो ।
आयोगको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढङ्गले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराएको हो । आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट साथ र सहयोगको अपेक्षा गरेको बताए । तर अन्तर्राष्ट्रिय समुदायबाट कस्तो सहयोग रहने हो भन्नेमा अन्योल छ ।
आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था तथा पर्यवेक्षहरुको बारेमा विस्तृत जानकारी गराए । उनले निर्वाचनमा मतदानपछि सुरक्षा संवेदनशीलताको दृष्टिले महत्त्वपूर्ण मानिएको मतपेटिका सुरक्षाका लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।
त्यस्तै, प्रमुख निर्वाचन आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको जानकारी दिएका छन् । निर्वाचन आयोगले यस पटकदेखि निर्वाचन हुने दिनभन्दा ४८ घण्टाअघिको अवधिलाई मौन अवधि नभनी प्रचारप्रसार गर्न नपाउने अवधि भनेको छ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकमा उहाँले प्रचारप्रसार गर्न नपाउने उक्त अवधिमा हुने आचारसंहिताविपरीतका गतिविधि रोक्न आयोग लागिपरेको बताए ।
उनले नेपालमा प्रचारप्रसार गर्न नपाउने अवधिमा विदेशी सञ्चार माध्यमबाट हुने प्रचारप्रसार नियन्त्रण गर्ने चुनौती आयोगलाई रहेको बताए । उनले स्वदेशमा प्रचारप्रसार रोकिए पनि विदेशबाट गर्न लगाउने सम्भावना रहेको पनि स्पष्ट पारे । अहिले पनि निर्वाचन प्रचारमा हेलिकोप्टरको प्रयोगको समस्या रहेको र त्यससम्बन्धी उजुरी आयोगमा आएको जानकारी दिँदै छानबिनबाट दोषी पाइए कारबाहीमा जाने बताए । उनले हेलिकोप्टर प्रयोगमा गृह मन्त्रालय र मातहतका कर्मचारीको कामप्रति असन्तुष्टि जनाए ।
आचारसंहिता पालनाको सन्दर्भमा भौतिक उपस्थितिमा आचारसंहिता उल्लङ्घन कम भए पनि सामाजिक सञ्जालमा भने उल्लङ्घन बढिरहेको पनि बताए । उनले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही पनि भइरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेदनशील बन्न सबैको ध्यानाकर्षण गराए ।
आयोगले मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढङ्गले प्रभावित हुने स्थिति देखिएको भन्दै आचारसंहिताका सन्दर्भमा अरूलाई लक्षित गरेर कुरा गर्ने, चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराएको छ । यस पटकको निर्वाचनमा धेरैजसो आचारसंहिता उल्लङ्घनका घटना टिकटकबाट भइरहेको उल्लेख गरेको छ ।