देउवा र ओली विजयी हुँदा मतान्तर दोब्बर - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

देउवा र ओली विजयी हुँदा मतान्तर दोब्बर


काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट फराकिलो मतान्तरले विजयी बनेका छन् । २८ हजार ५७६ मतान्तरले अध्यक्ष ओली विजयी भएका हुन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तरले ओली विजयी बने । अघिल्लो पटक पनि ओलीले कांग्रेसका अधिकारीलाई नै दोब्बर मतान्तरले पराजित गरेका थिए ।

एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका छन् । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय झापा ५ ले जनाएको छ ।

२०४८ मा सम्पन्न आमनिर्वाचनमा तत्कालीन अवस्थामा झापा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित अध्यक्ष ओली पहिलो संविधान सभा निर्वाचन बाहेक निरन्तर झापाबाट निर्वाचनमा उठेर जित हासिल गर्दै आएका छन् ।

यता, प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिस्पर्धीभन्दा दोब्बर मत बढी ल्याएर विजयी भएका छन् । देउवाले २५ हजार ५३४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएका छन् ।

नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मतका साथ तेस्रो भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले ७८४ मत पाएका छन् ।