मधेसमा सीके राउतको उदय, भारी मतले विजयी - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

मधेसमा सीके राउतको उदय, भारी मतले विजयी


काठमाडौं । तराई मधेसमा यसपटकको निर्वाचनले फेरि अनौठो सन्देश दिएको छ । जनताले रोचक परिणाम दिएका छन् । विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत (चन्द्रकान्त राउत)सदन प्रवेश गरेका छन् । उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मधेसको राजनीतिले निकै रोमान्चक सन्देश दिएको छ ।

अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न भएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाउनुमात्र होइन मधेसबाटै उदाएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लज्जास्पद हार व्यहोर्नु परेको छ । यादबलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सप्तरी क्षेत्र नम्बर २ बाट राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार डा राउतले ३५ हजार ४२ मतसहित निर्वाचित हुँदा यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लोसपाका नेता जयप्रकाश ठाकुरले भने सात हजार तीन सय ४४ मत मात्र प्राप्त गरे ।

कूल ९५ हजार तीन सय ४४ मतदाता रहेको सो क्षेत्रमा गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६४ हजार पाँच सय ६० मत खसेको थियो । अध्यक्ष राउत सप्तरीको महदेवा गाउँपालिकाका स्थायी बासिन्दा हुन् । संयुक्त राज्य अमेरिकाबाट नासाको वैज्ञानिक पेसा छाडेर एक दशकअघि उनी नेपाली राजनीतिमा प्रवेश गरेका हुन् । बेलायतको क्याम्ब्रिज युनिभर्सिटिबाट विद्यावारिधि गरेका ४३ वर्षीय डा राउत अमेरिकामा बसेर काम गर्दै आएका थिए ।

राजनीति गर्ने उद्देश्यले सन् २०११ मा नेपाल फर्किएका डा राउत ‘स्वतन्त्र मधेस’ स्वराजको अभियान बोकेर देशव्यापी सङ्गठन निर्माणमा जुटेका थिए । स्वतन्त्र मधेस गठबन्धन नामक पार्टी स्थापना गरेर छ वर्ष लामो अभियान चलाएका डा राउत सो क्रममा पटकपटक राज्य विप्लवको मुद्दामा पक्राउ परेर जेलसमेत परे । गत २०७५ साल फागुन २४ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ११ बुँद्दे सहमति गरेर मूलधारको राजनीतिमा उनी सहभागी भए । त्यसपश्चात् उनले स्वतन्त्र मधेस गठबन्धन पार्टी विघटन गरी जनमत पार्टी गठन गरेका हुन् ।

निरन्तर सङ्गठन विस्तारमा जुटेका डा राउत सङ्गठनकै बलमा चुनावी मैदानमा उत्रिएका थिए । डा राउत नेतृत्व जनमत पार्टी नेपाली राजनीतिमा यतिबेला नयाँ शक्तिको रुपमा उदाएको देखिन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास राउतको मुख्य लक्ष्य रहेको छ । उनले भने, “जनताको विश्वास र भरोसालाई टुट्न दिन्न्, जनादेशलाई शिरमा राखेर काम गर्ने छु ।” आफ्नो पहिलो कार्य योजना नै सरकारी सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने रहेको उनको भनाइ थियो ।

सप्तरीलाई सतप्रतिशत शिक्षित जिल्ला बनाउनु, विकराल रहेको कुपोषणलगायतका स्वास्थ्य समस्यालाई समाधान गर्दै सतप्रतिशत जनताको स्वास्थ्यमा सहज पहुँच पु¥याउनु, हरेक परिवारलाई रोजगारीसँग जोड्नु र किसानलाई सहजरुपमा मलखाद्य, बीउबिजन र सिँचाइको व्यवस्था गर्नु आफ्नो एजेण्डा रहेको डा राउतले सुनाए ।