विदा भए म्यादी प्रहरी - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

विदा भए म्यादी प्रहरी


काठमाडौं । आम निर्वाचन २०७९ मा खटिएका म्यादी प्रहरीलाई बिहिबार बिदाई गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ खटिएका १ लाख १५ हजार म्यादी प्रहरीलाई विदाइ गरिएको हो ।

विदाइका क्रममा कतिपयको मनभारी भयो भने कतिपय हाँसीखुशी बिदा भए । विशेष सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७७ वटै जिल्लाबाट छनोट भएका एक लाख १५ हजार म्यादी प्रहरीले सफलता पूर्वक जिम्मेवारी निर्वाह गरेको क्षणलाई नेपाल प्रहरीले मुक्तकण्ठले प्रशंसा गरेको छ ।

काठमाडौ उपत्यका प्रहरी परिसरका प्रमुख भरत बोहोराले म्यादी प्रहरीले अनुशाशित भएर जिम्मेवारीपूर्वक निकै उत्कृष्ट काम गरेका बताए । उनले उनीहरुको कामबाट नेपाल प्रहरी निकै प्रभावित भएको उल्लेख गरे ।

विभिन्न वृत्त मातहतमा रही काम गरेका म्यादी प्रहरीहरुलाई प्रहरी वृत्तका प्रमुखहरुले प्रमाणपत्रसहित सम्मान गरेर बिदा गरेका थिए । म्यादी प्रहरीले ४० दिनको काम गराइबाट आफुहरु उत्साही भएको र भविष्यमा मौका मिले प्रहरीमै भर्ना भएर देशको सेवा गर्ने चाहना रहेको बताए ।

सरकारले हरेक निर्वाचनमा सुरक्षाकर्मी अपुग हुँदा म्यादी प्रहरीबाट काम चलाउँदै आएकोमा भविष्यमा क्षमता अनुसारको रोजगारी दिन उनीहरुले आग्रह गरेका छन् ।