राष्ट्र बैंकले बैंकहरुको स्प्रेडदर घटायो - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

राष्ट्र बैंकले बैंकहरुको स्प्रेडदर घटायो


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको स्प्रेडदर घटाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले मौद्रिक निति सार्वजनिक गर्दै ब्याजदर थप नबढ्ने गरी बैंक तथा वित्तीय संस्थालाई तरलता प्रवाह गर्ने बताएका हुन ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने राष्ट्र बैंकको अपेक्षा छ । राष्ट्र बैंक अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शत प्रतिशत, स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय संचालनका लागि २ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

यस्तै, निजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जाअन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरिएको राष्ट्र बैंकले जनाएको छ। यसै सिलसिलामा राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । बैंकले आइतबार उक्त समीक्षा सार्वजनिक गरेको हो ।