सुकुम्बासी बस्तीमा डोजर आतंक, सडकमा आगो - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

सुकुम्बासी बस्तीमा डोजर आतंक, सडकमा आगो


काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती उठाउन खोजेपछि विभिन्न ठाउँमा सरकारी जमिन अतिक्रमण गरी बस्दै आएकाहरु एकजूट भई महानगरपालिका घेर्न पुगेका हुन ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरी काठमाडौं महानगरपालिकाले सोमबार थापाथलीस्थित बाग्मती किनारामा बसोबास गर्दै आएका १ सय ३८ परिवार सुकुम्बासी हटाउन प्रयास गरेको थियो।

यसैबीच, काठमाडौं महानगरपालिकाले थापाथलीमा सोमबार भएको झडपमा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरु विरुद्ध जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा उजुरी गरेको छ । हतियारसहित आक्रमण गरी नगर प्रहरीलाई घाइते बनाउनेहरु विरुद्ध महानगरले किटानी उजरी गरेको हो । सुकुम्वासीहरुको आक्रमणबाट महानगर प्रहरी बल प्रमुख राजु पाण्डे सहित १८ जना नगर प्रहरी घाइते भएका थिए ।

महानगरले नगर प्रहरी शर्मिला बोगटीलाई कब्जामा लिएर निर्घात कूटपिट गरेको र उनीसहित तीन जना नगर प्रहरीलाई उपचारका लागि आईसीयुमा राख्नुपरेको जनाएको छ । अनधिकृत संरचना हटाउन कानुन बमोजिम काममा खटिएका नगर प्रहरीहरूमाथि सांघातिक आक्रमण गर्नेहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न महानगरले माग गरेको छ ।

यता, आन्दोलनरत सुकुम्बासीले सरकारले स्थायी बसोबासको लालपुर्जा आफूहरूको हातमा नराखेसम्म बसोबास गर्दै आएको बस्ती छाड्ने सम्भावना नै नभएको बताएका छन्। सरकारले उपत्यकाका सुकुम्बासीलाई इचंगुनाराणमा सार्ने तयारी गरेको छ। तर लालपुर्जाबिना इचंगुनारायणमा नजाने उनीहरुको भनाइ छ । बस्ती हटाउने महानगरको अभियानप्रति आक्रोशित भएका सुकुम्बासीले सोमबारदेखि नै देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।

बाग्मती सभ्यता एकीकृत विकास समितिले गत कात्तिक २५ गते सार्वजनिक सूचना निकाली १० दिनभित्र बाग्मतीको नदि किनारामा बस्ती खाली गर्न, त्यो नभए विकास समितिले आफैं खाली गर्ने चेतावनी दिएको थियो। यस्तो चेतावनी दिएको १७ दिनपछि विकास समितिको समन्वयमा महानगरले सुकुम्बासी टोलमा डोजर लगाएको थियो।

काठमाडौं उपत्यकामा ३ हजार ४ सय ९६ परिवार सुकुम्बासी रहेको सरकारी तथ्यांक छ । जसअनुसार काठमाडौं, ललितपुर तथा भक्तपुरका २० वडामा तथा २७ वटा बस्तीमा सुकम्बासी बसोबास गर्दै आएका जनाइएको छ । तर अहिले उपत्यकामा सुकुम्बासीको परिवार संख्या ३ हजार ४ सय बाट ४ हजार परिवारमा पुगेको छ ।

सुकुम्बासी सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले उपत्यकामा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गराउन दीर्घकालीन उपाय खोजी गर्न सरकारलाई विभिन्न मोडलमा सुझाव दिइसकेको छ । तर सरकारले यस विषयलाई प्राथमिकतामा राखेको छैन ।