रुकुममा यसरी बढ्यो जनार्दन शर्माको मत - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

रुकुममा यसरी बढ्यो जनार्दन शर्माको मत


रुकुम पश्चिम । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रतिनिधिसभा सदस्यमा रुकुम पश्चिमबाट चौथो पटक शानदार जित हाँसिल गरेका छन् । माओवादी शान्ति प्रक्रिया आएयता भएका सबै चुनावमा रुकुमबाट शानदार मतका साथ संसद छिर्नुभएका शर्माले निरन्तर विजयको विरासत कायम गर्दै आएका छन् । उनले हरेक चुनावमा आफ्नो मत बढाउँदै लिएका छन् ।

यस्तो छ भोटको तथ्यांक

जनार्दन शर्मा पहिलोपटक २०४८ सालमा चुनावी मैदानमा उत्रिएका थिए । तत्कालिन जनमोर्चाबाट चुनावी मैदानमा होमिनुभएका शर्माले त्यो बेला नेपाली काँग्रेसका गोपालजी जंग शाहसँग करिब ११ सयको मतान्तरले पराजय हुनुपरेको थियो ।

२०५२ सालमा जनयुद्ध सुरु भयो । शर्मा जनयुद्धमा लागे । माओवादीशान्ति प्रक्रियामा आएपछि फेरि संसदिय चुनावमा सहभागी भए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा शर्माले २२ हजार ५७५ मत ल्याएर विजयी भएका थिए । ४० हजार ६७२ मत खसेकोमा ३९ हजार ५३१ मत सदर भएको थियो । उनले ५७.११ प्रतिशत मत पाएका थिए ।

त्यसपछि २०७० सालमा भएको दोश्रो संविधानसभा को चुनावमा ४९ हजार ०७९ मत खसेको थियो । जसमा ४७ हजार ८५५ मत सदर भएको थियो । शर्माले ३० हजार २७० मत ल्याएर विजयी भए । यो कुल सदर मतको ६३.२५ प्रतिशत हो । २०६४ चुनावमा भन्दा ७ हजार ६९५ मत बढी हो ।

त्यसैगरी २०७४ सालको चुनावमा ५५ हजार ४८५ मत खसेकोमा ५१ हजार ९१५ मत सदर भयो । जसमा शर्माले ३४ हजार ४०२ मत प्राप्त गरेर तेस्रो पटक विजयी भए । कुल सदर मतको यो ६६.२७ प्रतिशत हो । २०७० को निर्वाचनमा भन्दा ४ हजार १३२ मत बढी आएको थियो ।

त्यसैगरी २०७९ मसिर ४ मा भएको चुनावमा शर्माले चौथो पटक पनि शानदार जित हाँसिल गरे । रुकुम पश्चिममा ६० हजार १११ मत खसेको मध्य ५७ हजार २९५ मत सदर भयो । शर्माले ३९ हजार ५४९ मत ल्याएर विजय भए । सदर मतको यो ६९.०३ प्रतिशत हो । २०७४ को चुनावमा भन्दा यो चुनावमा शर्माले ५ हजार १४७ मत बढी ल्याएका हुन् ।

२०६४ र २०७० सालमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार हुनभएका शर्मा २०७४ सालको चुनावमा नेकपा एमालेसँगको गठबन्धनबाट र २०७९ मा वाम गठबन्धनको तर्फबाट उनी उम्मेदवार भएका थिए ।