काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उनले बताए । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ ।
मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ । शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ । शपथको कुरा एकातिर रहेपनि शपथ कसले गराउने भन्ने विषयले राजनीतिमा नयाँ बहस भइरहेको छ । विपरीत विचार र आन्दोलनबाट आएका नेताहरुलाई पशुपतिले गराउने शपथले निकै असजिलो महसुस गराएको छ ।
अहिलेको संसदमा कट्टर राजावादीका हातबाट कट्टर गणतन्त्रवादी नेताहरुले समेत शपथ लिँदैछन् । यो नेपाली राजनीतिको निकै दुर्लभ घट्ना हो । लोकतान्त्रिक गणतन्त्र प्राप्तीको आन्दोलनबाट आएका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र जस्ता दलका सांसदहरुले पशुपतिबाट गराइने शपथलाई असजिलो मानेका छन् ।
२०६५ सालमै राजतन्त्र हटाएर मुलुकमा गणतन्त्र स्थापना गराएका दलहरुले राजतन्त्रको वकालत गर्दै आएको पार्टीका सांसदबाट शपथ लिनुपर्ने अवस्था आइलागेको छ । संसदको ऐन, कानून र संवैधानिक व्यवस्थाअनुसार नेता जबराले प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।
संसदीय अंक गणितमा संघीयता, धर्म निरपेक्षता, गणतन्त्रको पक्षमा दुईतिहाईभन्दा बढी सांसद रहेका छन् । संसदमा १२ सिट मात्रै भएको राप्रपा यी सबै पक्षको विराधी पार्टी हो । तर पनि त्यही पार्टीका सांसद जबरा ज्येष्ठ नागरिक भएको हैसियतले अन्य सांसदहरुलाई सपथ खुवाउँदै छन् । राजेन्द्र लिङदेनले नेतृत्व गरेको राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको वकालत गर्दै आएको छ । जसले गर्दा अहिले नेपालको संसदमा प्रतिनिधित्व गर्ने सबै ठूला दलहरु गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको पक्षमा छन् ।
यिनै दलहरुले नेपालमा गणतन्त्रको जग बसाएका हुन् । त्यसकारण पनि कट्टर गणतन्त्रवादी नेताहरुका लागि पशुपति शमशेरले सपथ खुवाउँदा उनीहरुको मनमा कहीँ न कहीँ असजिलो उत्पन्न हुनेछ । हामीले सधै गणतन्त्रको पक्षमा लडाइँ लड्यौँ, राजतन्त्रलाई फाल्यौँ तर आज राजतन्त्रको पक्षधर नेताबाट संसद सदस्यको सपथ खाँदै छौँ यसले हामीलाई कहीँ न कही मनमा चिसो उत्पन्न भएको छ’, नेकपा माओवादीका एक सांसदले भने ।
तर विश्लेषकहरुले ऐनले दिएको अधिकार प्रयोग गर्नुपर्ने भएकाले नेपाली नागरिकको हैसियतमा एउटा सांसदले अर्को सांसदलाई सपथ खुवाउँदा कुनै फरक नपर्ने बताएका छन् । अहिलेको अवस्थामा जबरा सबै सांसदहरुभन्दा जेठो भएको, संसदको ऐन नियम र परम्पराले त्यही निर्धारण गरेको छ ऐनले निर्धारण गरेको विषयमा अन्यथा सोच्नु नहुने आवाज उठेको छ ।
नागरिकतामा उल्लेख भए अनुसार ८१ वर्ष भएका जबराको विक्रम संवत १९९८ मंसिर २४ गते जन्म भएको थियो । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव नागरिकतामा ८५ वर्ष पुगेका भए पनि नागरिकतामा आफ्नो जन्ममितिमा त्रुटि भएको उल्लेख गर्दै २०७४ सालमा पनि नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउने कार्यक्रममा अनुपस्थित भएका थिए । उनले अहिले पनि नआउने भएपछि नेता जबराबाट नै ज्येष्ठ सदस्यको रुपमा शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको थियो । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी २७५ जना सांसदहरु निर्वाचित भएका छन् ।