ठूलो भाग खोज्दा कांग्रेसले गुमायो सबै अवसर - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

ठूलो भाग खोज्दा कांग्रेसले गुमायो सबै अवसर


काठमाडौं । कांग्रेसको अपरिपक्क निर्णयले सरकार बनाउने अवसर गुमाएको छ । प्रतिनिधि सभाको निर्वाचनबाट पहिलो दल बने पनि कांग्रेस सभापति शेर बहादुर देउवा कुनै पनि हालतमा आफू प्रधानमन्त्री हुने ध्याउन्नमा लागे छि सत्ता गठबन्धन टुटेको हो । देउवाको कारण नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता सहकार्यकालागि नेकपा एमालेसँग सहकार्य गर्न पुगेको हो ।

राजनीतिमा स्थिर शत्रु, मित्र हुँदैन भन्ने तथ्य फेरि एक पटक प्रमाणित भएको छ । बाम एकताको नारासहित ०७४ सालको निर्वाचनमा होमिएका नेपालका दुई ठूला बाम घटक एमाले र माओवादी पानीबाराबारको सम्बन्ध गुज्रिदै फेरि सहकार्यमा जुटेका हुन ।

पाँच दलीय गठबन्धनको सरकारले आम निर्वाचन सम्पन्न गराएपछि सबैभन्दा ठूलो लाभ नेपाली कांग्रेसले नै लियो । अघिल्लो निर्वाचनमा गुमाएको साखलाई पुनः जागृत गरेको कांग्रेसलाई यो पटक गठबन्धन बचाएर लैजाँदा केन्द्रदेखि प्रदेशसम्म सत्ताको लाभ थियो । तर, राजनीति सधै कहाँ सिधा बाटो हिँड्छ र ? लाभको आधारमा गरिने साठगाँठले आज फेरि नेपालको राजनीतिमा नयाँ घटना जन्माइदिएको छ । जसबाट कत्तिले हातमै आएको अवसर गुमाएका छन् भने कसैले नसोचेको अवसर पाउँदैछन् ।

नयाँ सरकार गठनका लागि आइतवार दिनभरको दौडधुपमा पनि केही दलले राम्रै अवसर पाउँदा नेपाली कांग्रेसले सबैभन्दा धेरै गुमाएको छ । माओवादी र एमालेले राम्रै लाभ प्राप्त गरेको दिन नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले भने नसोचेको गुमाएका छन् । बिहानसम्म नेपाली कांग्रेससँग थुप्रै पद थिए र हुनेवाला थिए । माओवादीलाई प्रधानमन्त्री दिएको भए राष्ट्रपतिसहित उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये केही पद पाउँथ्यो । यस्तै, प्रदेशमा पनि उसलाई राम्रो लाभ थियो । १० सिट भएको एकीकृत समाजवादीले पनि केही पदमा दाबी गरेको थियो ।

आइतबार दिउँसो १२ बजेसम्म सत्ता गठबन्धन कायमै रहँदा कांग्रेस धेरै शक्तिशाली र धेरै पदको दाबेदार थियो । तर जब माओवादी अध्यक्ष दाहाल गठबन्धन छाडेर नेकपा एमालेका अध्यक्ष केपी ओली निवास बालकोट पुगे, तब कांग्रेससँग केही पनि रहेन । अब कांग्रेसले ठूलो दलको हैसियतामा पाउने लाभ गुमाएको छ । छैटौं पटक प्रधानमन्त्री बन्ने शेरबहादुर देउवाको सपना तुहिएको छ । अनी राजनीतिको उत्तरार्धमा राष्ट्रपति बन्ने रामचन्द्र पौडेलको इच्छामा अंकुश लागेको छ ।

यसले कांग्रेसभित्रको आन्तरिक विवाद झन चर्किने छ । गठबन्धन परिवर्तनले माओवादी केन्द्रको आडमा आफ्नो राजनीतिक यात्रा तय गरेको एकिकृत समाजवादीलाई संकटले घेर्ने निश्चित छ । पार्टी सभापति देउवाले निर्वाचित दुई महामन्त्रीलाई सत्ता गठबन्धन र अन्य बैठकमा नराखी छलफल गर्दै आएका कारण पनि सही सल्लाह नपाउँदा धेरै अवसर गुमाएको विश्लेषण गरिएको छ । निर्वाचन हारेका कृष्ण प्रसाद सिटौला र जुनियर नेताहरुलाई छलफलमा राखे पनि महामन्त्री गगन कुमार थापा, विश्व प्रकाश शर्मा, नेता डा.शेखर कोइरालालाई बाहिर राखेर छलफल गर्दै आँफू प्रधानमन्त्री हुने ध्याउन्नमा थिए देउवा । माओवादीले राष्टपति अफर गर्दा पनि दुवै पद लिन खोजेपछि सबै अवसर कांग्रेसले गुमाएको हो ।

देउवाले संसदीय दलको निर्वाचन बालुवाटरमा सांसद भेला गर्दा समेत दुई महामन्त्रीलाई खबर गरेनन् । आँफूसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भए पछि गगन र विश्वप्रकाशलाई उपेक्षा गर्दै आएका थिए । महामन्त्री थापा र शर्माले नेकपा माओवादीले जुनसुकै बेला एमालेसँग सहकार्य गर्न सक्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।