काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिए । राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ दिलाइन ।
त्यस्तै, विनाविभागीय मन्त्रीहरुमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिए । शपथ लिएका आठ सदस्यीय मन्त्रीपरिषदमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित एक उपप्रधानमन्त्री गरी दुई जना, नेकपा (एमाले) बाट एक उपप्रधानमन्त्रीसहित चार मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री र जनमत पार्टीबाट अब्दुल खाँले शपथ लिएका हुन् ।
प्रचण्ड दौरा सुरुवालमा चिटिक्क परेर शपथ लिन पुगेका थिए । तेस्रो पटक प्रधानमन्त्री भएका उनले यसअघि कोट, सट, पाइन्ट र टाइमा सजिएर जाने गरेका थिए । शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरू समारोहमा उपस्थित थिए ।
प्रधानमन्त्रीको शपथग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणलाई झकिझकाउ बनाइएको थियो । समारोहमा भाग लिन आउनु हुने विशिष्ट पाहुनाका लागि अग्रस्थानमा र अन्य पाहुनाका लागि दायाँ बायाँ बस्ने व्यवस्था मिलाइएको थियो ।
ू