पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भब्य उद्घाटन - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भब्य उद्घाटन


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन ।

शुरुमा विमानस्थलबाट आन्तरिक उडान मात्र हुने बताइएको छ । यान्त्रिक परीक्षण उडान यसअघि सम्पन्न भएपछि आन्तरिक उडानका लागि वातावरण बनेको कर्मचारीहरुको बुझाई छ ।

अझै केही प्राविधिक पक्षमा काम गर्न बाँकी रहेकाले अन्तर्राष्ट्रिय उडान शुरु हुन समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल बाहिरका गन्तव्यसँग जोड्न बुद्ध एअरले पहल थालेको छ ।

बुद्ध एअरले पोखरामा आधारित रहेर नेपाल तथा नेपाल बाहिरका विभिन्न गन्तव्यमा सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । भारतका विभिन्न शहरमा उडान भर्नका लागि सो कम्पनीले भारत सरकारसँग अनुमति माग गरेपछि सो अनुमति प्राप्त भएको बताइएको छ ।

उदघाटन समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिए । समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले सो विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्ने बताए ।