झापा विद्रोहबाट जन्मिएका देवराज प्रतिनिधि सभाको कमाण्डर - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

झापा विद्रोहबाट जन्मिएका देवराज प्रतिनिधि सभाको कमाण्डर


काठमाडौं । प्रतिनिधि सभाको सभामुखका नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार प्रतिनिधि सभामा सांसदहरुको मत विभाजनका आधारमा सभामुख चयनका लागि भएको मतदानमा घिमिरेले १६७ मत ल्याएर निर्वाचित भएका हुन् ।

घिमिरेको विपक्षमा उम्मेदवारी दिनु भएकी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई १ सय मत प्राप्त भएको थियो । प्रतिनिधि सभाको बैठक संचालन गरिरहनु भएका जेष्ठ सदस्य एवं राष्ट्रिय प्रतातन्त्र पार्टीका सांसद पशुपति शमशेर राणाले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरेका थिए ।

घिमिरेलाई नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी लगायत सत्ता गठबन्धमा रहेका दलहरुको समर्थन रहेको थियो भने कांग्रेस उम्मेदवार न्यौपानेलाई संसदमा बिपक्षमा रहेका दलहरुको समर्थन रहेको थियो । बिहिबार जम्मा २६८ सांसद उपस्थित रहेकामा १ जना तटस्थ बसेका थिए । प्रतिनिधि सभामा निर्वाचित र समानुपातिक गरी २७५ सांसद छन् ।

प्रधानमन्त्रीमा नेकपा माओवादीका अध्यक्ष समेत रहनु भएका पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेर गुन लगाएको कांग्रेसले सभामुखमा भने आफ्नो पार्टीबाट उम्मेदवारी दिएको थियो । कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा माओवादीले आफ्ना उम्मेदवारलाई समर्थन गर्ने विश्वास गरेको छ ।

घिमिरे लामो समयदेखि राजनीतिमा सक्रिय थिए । हाल नेकपा एमालेको प्रदेश नम्बर १ का इन्चार्ज समेत रहेका घिमिरे गत मंसिर ४ गते भएको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । यस अघि २०५६ सालमा उनी राष्ट्रिय सभामा सांसद थिए । घिमिरेको जन्म ताप्लेजुङको श्रीजंगा गाउँपालिका–३ मा २०१३ साल जेठ १३ गते भएको थियो । हाल भने उनी झापाको अर्जुनधारा नगरपालिका वडा ६ का स्थायी बासिन्दा हुन् ।

उनी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) लाई हराएर झापा क्षेत्र नम्बर २ बाट २८ हजार ७ सय १६ मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । ताप्लेजुङ स्थित सिंहदेवी प्राथमिक विद्यालयबाट विद्यालय शिक्षा हासिल गरेका घिमिरे काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्नातक तह अध्ययन गर्दा गर्दै कम्यूनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ताको रुपमा संगठित भएका थिए ।

विसं २०३१ सालमा झापा बिद्रोहपछि राजनीतिमा लागेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटीको गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा लागेका थिए । घिमिरे २०३५ भदौमा पार्टी सदस्यता प्राप्त गरेका थिए ।

२०३५ साल पुसमा नेकपा माले बनेपछि घिमिरेले तेह्रथुम र पाँचथर जिल्लामा पार्टीको संगठकको रुपमा काम गरेका थिए । घिमिरेले २०३६ देखि २०४६ सम्म १० वर्ष भन्दा बढी भूमिगत जीवन पार्टी निर्माणमा बिताएका थिए । उनी २०४६ भदौमा लाहानमा सम्पन्न चौथो महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी थिए ।

नेकपा माले र एमालेको एकीकरणपछि २०४९ सालमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनबाट घिमिरे एमालेको केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए । २०५० सालदेखि एमालेको मेची अञ्चल इन्चार्जको जिम्मेवारी पाएका घिमिरे २०७५ मा एमाले र माओवादी मिलेर बनेको नेकपाको प्रदेश १ को अध्यक्ष भएका थिए ।