मुलुकको गौरवशाली संस्था डुबेको टूलूटूलू हेरेर बस्न सकिदैन - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

मुलुकको गौरवशाली संस्था डुबेको टूलूटूलू हेरेर बस्न सकिदैन


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् । कुन जहाज, कति बजे, कहाँ डिले भयो ?भन्ने सम्मको रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई मन्त्री किरातीको कडा निर्देशन थियो ।

उनले निगमको समस्या समाधान हुने गरी विजनेश प्लान तत्काल बनाएर आफू समक्ष पेश गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए । गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी थियो ।

सोमबार निगम व्यवस्थापनले आयोजना गरेको आफूहरुको स्वागत कार्यक्रममा बोल्दै उनले नेपाल वायु सेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाई गर्न नहुने बताए । यदि त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने पनि मन्त्री किरातीले स्पष्ट पारे ।

मन्त्री किरातीले १ महिनाभित्र अनलाइन टिकट पाउने गरी आवश्यक व्यवस्था मिलाउन पनि निगमलाई निर्देश दिए । उनले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था आफूहरुले तत्काल गरिदिने पनि बताए । मन्त्री किरातीले निगमलाई मान्छेहरुले घृणा गर्ने गरेको उल्लेख गर्दै त्यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएको पटक(पटक बताए । निगमलाई समय, सन्दर्भ वा आफू कसैले पनि असफल हुने छुट दिन नसक्ने उनको भनाई थियो ।

उनले आफूले सेतो लुगा लगाउने गरेको भन्दै कालो दाग लगाउने प्रयास नगर्न पनि सचेत गराए । मन्त्री किरातीले निगमजस्तो मुलुकको गौरवशाली संस्था डुबेको आफूले टूलूटूलू हेरेर बस्न नसक्ने बताए । मन्त्री किरातीले अन्य जहाजहरु नाफामा हुने तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्नुपर्ने समेत बताए ।