राष्ट्रपतिमा कांग्रेसलाई प्रचण्डको भर - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

राष्ट्रपतिमा कांग्रेसलाई प्रचण्डको भर


काठमाडौं । प्रतिनिधि सभाका सभामुख र उपसभामुख चयन सकिएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको सोमबार भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि सार्न नहुनेबारे सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो । बैठकमा राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने र कुनै कानुनी समस्या भए त्यसलाई समाधान गरी निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्ने सम्बन्धमा छलफल भएको उनले बताए ।

कांग्रेसले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा अरू दलको पनि सहयोग लिएर प्रस्तुत हुने दृष्टिकोण राखेको प्रवक्ता महतले बताए । यसका लागि कांग्रेसले संसद्मा रहेका अन्य दलसँग पनि सरसल्लाह गर्ने जनाएको छ ।

नेपालको संविधानको धारा ६३ मा राष्ट्रपतिको कार्यकाल पाँच वर्ष हुने उल्लेख छ । राष्ट्रिपति विद्यादेवी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि सो पदमा निर्वाचित भएकी हुन् । यसैगरी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ मा आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने उल्लेख छ ।

राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने माग गरिरहेको कांग्रेसले आफ्नो तर्फको उम्मेदवार भने टुंगो लगाएको छैन । कांग्रेसबाट वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला राष्ट्रपति बन्ने दौडमा छन् । यद्यपि, कांग्रेस सभापति शेरबहादुर देउवाले ‘राष्ट्रपतिको उम्मेदवार पार्टी १४औं महाधिवेशनताका गरेको सहमतिअनुसार पौडेल नै बनाउने’ बताइएको छ ।
आफुले उठाएको उम्मेदवारलाई जिताउन कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालको भर छ । पार्टीकै उम्मेदवार उठाउने निर्णय गरे पनि त्यसका लागि प्रचण्डलाई नै निर्णायक मानेको छ ।

कांग्रेसले विश्वासको मत दिएका बेला राष्ट्रपतिमा सघाउने विषयमा सहमति भए नभएको नखुले पनि संविधान जोगाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेसले उनीसँग धेरै अपेक्षा गरेको महतको भनाइ छ । तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा केही बोलेका छैनन् । उनले प्रतिपक्षी दलसँगको सहमतिमा मात्र राष्ट्रपतिको उम्मेदवार तय हुने बताएका छन् । वर्तमान सत्तागठबन्धनले फागुनपछि राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेपछि कांग्रेसले दबाब दिने रणनीति बनाएको हो ।