राष्ट्रपतिमा एमालेको दावी, प्रचण्डसँग झस्किए ओली - रुपान्तरण
 २०८१ बैशाख ४, मंगलबार    

राष्ट्रपतिमा एमालेको दावी, प्रचण्डसँग झस्किए ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।

दुवैबीच अब हुने राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भएको बताइएको छ । राष्ट्रपति निर्वाचनमा एमालेले राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धन भित्र सहमतिमा बनाउने कोसिस गरिरहेको छ । सत्ता साझेदार दलबीच राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । निर्वाचनको मिति भने तय भइसकेको छैन । भेटमा दुई नेताले समसामयिक विषयमा पनि छलफल गरेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नो दाबी राख्दै आएको छ । कांग्रेसले निर्वाचनको मत तय गर्न दबाब दिँदै आएको छ ।

सरकारमा सहभागी सबैभन्दा ठुलो दलको अध्यक्ष बनेपछि ओलीको बालुवाटार भेटघाट बाक्लिँदो छ । मंगलबार बिहान मात्र बालुवाटार पुगेका ओली विहीबार पुनः प्रचण्डलाई भेट्न पुगेका हुन् । उनी सरकार सञ्चालनका लागि बनेको उच्चस्तरीय संयन्त्रको संयोजक पनि हुन् ।

यता, नेपाली कांग्रेसले पनि राष्ट्रपति पदमा नजर लगाएको छ । एमालेलाई पाखा लगाएर कांग्रेसले राष्ट्रपतिको कुर्सी हत्याउने योजना बनाएको छ । सत्ता साझेदार दलबीच एमालेले सो पद पाउने मोटामोटी सहमति भएको बताइपनि स्पष्ट चित्र नआउँदा अन्योलता कायम भएको हो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ ।

विश्वासको मत दिएको बदलामा राष्ट्रपति पाउने विश्वासमा रहेको कांग्रेस माओवादीको सकारात्मक जवाफको प्रतिक्षामा देखिन्छ । माघ ५ गते प्रतिनिधिसभाको सभामुख चयन भएपछि संसद भवनबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको चयन सहमतिमै हुने प्रतिक्रिया दिएका थिए । त्यसलगतै एमाले अध्यक्ष केपी ओलीले भने प्रचण्डको प्रतिक्रियाको प्रतिवाद हुनेगरी एमालेको उम्मेदवारमै राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री प्रचण्डले काँग्रेससँग पनि विश्वासको मत लिएपछि एमाले सशंकित बन्दै आएको छ । विश्वासको मत लिइसकेका प्रधानमन्त्री प्रचण्डले सभामुख, उपसभामुखमा नसघाएकाले राष्ट्रपतिमा सघाउने आशा कांग्रेसमा छ । काँग्रेस त्यही विश्वासका साथ तयारीमा लागेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई कुनै पनि विषयवस्तुतमा नचिढ्याउन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएको बताइन्छ ।

उनले पदाधिकारीको बैठकमा राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम अघि सारेका छन् । सभापति देउवाले कुनै पनि हालतमा राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार निर्वाचित हुने वातावरण बनाउनुपर्ने भन्दै नेताहरूलाई अन्य दलसँग छलफलमा जुट्न निर्देशन पनि दिइसकेका छन् ।