ओलीसँग प्रचण्डको असन्तुष्टी - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

ओलीसँग प्रचण्डको असन्तुष्टी


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको स्थायी कमिटी बैठकमा उनले संसद विघटनको विषय संसद् प्रवेश गराएर ओलीले सहमति पालना नगरेकोमा असन्तुष्टि जनाउनुभएको एक पदाधिकारीले जानकारी दिएका हुन् ।

संसद विघटनको विषय निर्वाचित प्रधानमन्त्रीका अगाडि सहज विषय नभएको दाहालको धारणा रहेको बताइएको छ । अध्यक्ष दाहालले मन्त्रालय भागबण्डार मर्यादाक्रममा पनि असन्तुष्टि जनाएको बुझिएको छ । उनले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुने कुरा गम्भीर भएर सोच्नुपर्नेमा पनि जोड दिनुभएको बताइएको छ ।

सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाउँदा भोलि प्रधानमन्त्री हुँदा आउन सक्ने परिस्थितिको मूल्यांकन आवश्यक रहेको धारणा राख्नुभएको स्रोतले उल्लेख गरेको छ । अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गर्नुभएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गर्नुभएको उनले बताए । पार्टी एकता र संगठन बिस्तार पनि बैठकको एजेण्डा रहेको छ । स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।