काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्न नहुने जिकिर गरेका छन्। लोकतन्त्र संवाद केन्द्र काठमाडौँले बुधवार आयोजना गरेको ‘ आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति भए संविधानले नदिएको शक्तिको अभ्यास हुने दाबी गरेका हुन्।
विगतमा भएका प्रतिनिधिसभा विघटन हुँदा र अड्किएका विधेयक र अध्यादेशलाई नियाल्दा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएमा ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने उनको टिप्पणी छ। राष्ट्रपतिलाई एमालेले आफ्नो कार्यकर्ता बनाएको आरोपसमेत लगाएका महामन्त्री थापाले अब पनि एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने जिकिर गरे।
त्यस्तै, सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघि नै विघटन हुने डर आफूलाई लागेको बताए ।
ओलीले संसदमा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उनको जिकीर थियो ।
उनले केपी ओली प्रवृत्ति बलियो हुँदै गयो भने त्यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन नसक्ने आरोपसमेत लगाए । नेता पौडेलले ओलीले आफ्नै अहंकारका कारण आफू नेतृत्वको सरकार गुमाउनु परेको पनि बताए । ओलीले दुई तिहाई नेतृत्वको सरकार चलाउन पाए पनि मुलुकको हितमा काम गर्न नसकेको उनको बुझाई थियो ।