प्रचण्डको साथ लिएर शीलत निवास छिर्ने कांग्रेको दाउ - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

प्रचण्डको साथ लिएर शीलत निवास छिर्ने कांग्रेको दाउ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्ता भावी राष्ट्रपतिका विषयमा केन्द्रीत थियो । उनीहरुबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने र राष्ट्रपतिका विषयमा मोटामोटी धारणा बनाउने तयारी छ ।

भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएको ओलीको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनको तयारी एकातिर छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने राष्ट्रपति पद हत्याउने कसरतमा जुटेको छ ।

आफूबाट अप्रत्याशित फुत्किएको सम्पूर्ण शक्ति फर्काउन कांग्रेसले हरसम्भव प्रयत्न गरिरहेको छ । माओवादीसँग पुनः सम्बन्ध सुधारेर ‘कोर्स करेक्सन’ गर्ने र सत्ता राजनीतिको केन्द्रमा आफूलाई समाहित गर्ने प्रयत्न कांग्रेसले गर्दै आएको हो । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिइसकेको छ भने केन्द्रदेखि प्रदेशसम्म कतै माओवादी नेताविरुद्ध कुनै खालको प्रतिस्पर्धा गरेको छैन । माओवादीप्रति उदार हुनुको एउटै कारण हो– राष्ट्रपति चुनावसम्म वर्तमान गठबन्धन टुटाएर आफूअनुकूल पात्रलाई शीतल निवास पुर्‍याउने दाउ ।

राष्ट्रपतिको चुनाव आगामी फागुन २५ गतेका लागि तोकिएको छ । त्यसका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन गरिसक्नुपर्छ । राष्ट्रपतिका विषयमा प्रधानमन्त्री दाहाल सत्ता साझेदार दलहरुप्रति खुलेर बोलेका छैनन् । एमाले उम्मेदवारलाई राष्ट्रपति बनाउने मौखिक समझदारीबाट प्रधानमन्त्री दाहाल पछाडि हटेको देखिन्छ किनकी राष्ट्रपतिमा कांग्रेस र एमालेको दौडमा माओवादीसँग निर्णायक मत छ ।

राष्ट्रपति चुनावमा माओवादी निर्णायक भएकाले उसलाई नचिढ्याउने कांग्रेसको नीति छ । यतिमात्रै होइन गठबन्धन गरेर चुनाव जिताएको माओवादी एमाले कित्तामा पुगेको भन्दै दाहालको आलोचना र विरोध हुने डरले देउवाले चुनावी समीक्षासम्बन्धी केन्द्रीय समितिको बैठक तीनपटकसम्म स्थगित गरिसकेका छन् ।

दाहाल नेतृत्वको सरकारमा रहे पनि एमालेसँग बढी नजिक रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाहेकका दललाई विश्वासमा लिने रणनीति कांग्रेसको छ । राष्ट्रपति चुनावमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरु मतदाता हुन्छन् । उनीहरुको कुल मतभार ५२ हजार ६२८ हुन्छ । यसको बहुमत अर्थात् २६ हजार ३१५ मत ल्याउने उम्मेदवार राष्ट्रपतिमा विजयी हुन्छ ।