काठमाडौं । नेकपा एमालेले अहिलेको सत्ता गठबन्धनलाई टिकाएर लैजाने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले अहिलेको गठबन्धनलाई अघि बढाउने निष्कर्ष निकालेको हो ।
बैठकका निर्णयबारे जानकारी दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनलाई टिकाएर लैजानुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए । उनले भने,‘ुमुलुकलाई सही राजनीतिक दिशा दिनुपर्छ, यो गठबन्धनलाई यो सहकार्यलाई टिकाएर लैजानुपर्छ,चुनौती छन् तर यो गठबन्धनलाई टिकाएर लैजानुपर्छ भन्ने संकल्प हामीले गरेका छौं ।’ भिन्नभिन्न दलको गठबन्धन रहेकाले असमझदारी उत्पन्न हुनु स्वभाविक रहेको भन्दै उनले गठबन्धनमा समझदारी बनाउने प्रयास जारी रहेको उपमहासचिव ज्ञवालीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट निर्माण हुनु दुःखद विषय भएको उपमहासचिव ज्ञवालीले बताए । रास्वपाले सरकार छोड्नुको कारण पार्टी सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी प्रक्रियामा भएको त्रुटी र पुस १० गतेको समझदारी अनुसार गृह मन्त्रालयमा नपाउनु रहेको उनले बताए । रास्वपाले सरकारलाई दिएको विश्वास कायमै रहेको र त्यो विश्वास कायमै राख्न आफूहरुले पहल गर्ने बताए । उपयुक्त वातावरण बनाएर रास्वपालाई सरकारमा फर्काउने कोशिस जारी रहेको भन्दै उपमहासचिव ज्ञवालीले नागरिक उन्मुक्तिलाई पनि सरकारमा ल्याउने प्रयास जारी रहेको बताए ।
त्यस्तै, एमालेका चार जना नेताले नयाँ जिम्मेवारी पाएका छन् । सचिवालय बैठकले प्रदेश १ को इञ्चार्जमा राजेन्द्र गौतम, अर्थ तथा योजना आयोगको प्रमुखमा विन्दा पाण्डे, अपांगता विभाग प्रमुखको इञ्चार्जमा पार्वत गुरुङ र धनुषा इञ्चार्जको जिम्मेवारी शीला यादवलाई तोकेको हो । बैठकले दुई महिने विशेष अभियान सञ्चालन गराउने पनि निर्णय गरेको छ । पार्टीको सुदृढीकरण र विस्तारका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।