काठमाडौं । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा सुरू भएको छ । लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेको सो पार्टीको प्रथम महाधिवेशन आइतबारबाट सुरू भएको हो ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेशनमा नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका छन् । उद्घाटन समारोहमा प्रमुख दलका नेताहरुले सम्बोधन गरेका छन् ।
अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको प्रतिक्रिया दिएकी छन् । अध्यक्ष बास्कोटाले पार्टीका पूर्व अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजेपनि आफू लगायतका नेताहरुले पार्टी बचाउँदै निर्वाचन लडेर देखाएको बताइन । उनले विवेकशील साझा पार्टीका नेताहरु अधिकांश दलहरुमा अहिले रहेको भन्दै आफ्नो पार्टीले नेताहरु उत्पादन गरिरहेको बताइन ।
उनले पार्टीमा पूर्व अध्यक्षलाई गाली गर्ने आवाज उठेको भएपनि महाधिवेशन गर्नु नै रविन्द्र मिश्रका लागि गतिलो झापड भएको बताइन । महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने गरी पार्टी अघि बढ्ने बताइन । बास्कोटाले विवेकशील साझा पार्टी आफैँले बनाउने उद्घोष गर्दै कुनैपनि सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने बताइन ।
महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरनेछ । २०६४ सालमा निर्वाचित पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि उज्ज्वल थापाको नेतृत्वमा सुरुवात भएको ‘ज्याला पूरा लियौं, अब संविधान देउ’ अभियान विस्तारित हुँदै गएपछि विवेकशील नेपाली दलको जन्म भएको थियो । यो अभियानलाई थापाले दोस्रो संविधानसभा निर्वाचन–२०७० मा राजनीतिक रुप दिएका थिए ।
२०७४ को स्थानीय निर्वाचनको पूर्वसंन्ध्यामा संचारकर्मी रवीन्द्र मिश्रको नेतृत्वमा साझा पार्टी खुलेको थियो । साझा पार्टी र विवेकशील एकिकृत भइ विवेकशील साझा पार्टी बनेको हो । हाल मिश्रको बहिर्गमनपछि पार्टीको नेतृत्व बाँस्कोटाले लिएकी थिइन । अन्ततः राप्रपा प्रवेश गरेको मिश्र पक्षलाई छोडेर विकेकशील साझाका बाँस्कोटा र पाण्डे पक्ष फेरि एक ठाउँमा आएका छन् । र प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छन् ।
"