काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अहिलेको राजनीतिक अवस्था फेर्न देशी विदेशी शक्तिहरु लागि परेको बताएका छन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको राजनीतिक अवस्था फेरिन सक्ने उल्लेख गरे । अहिलेको सत्ता गठबन्धनलाई भत्काउन देश भित्र र बाहिरबाट खेल भइरहेको पनि ओलीको दाबी छ ।
राजनीतिमा अनेक उतारचढाव आउने बताउँदै उनले अहिले गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएकोमा त्यो तोडिने अवस्था आए पनि सहज रूपमा लिनु पर्ने बताए । पुरानो गठबन्धन तोडियो भन्दैमा धेरै खुसी नहुन उनले नेता कार्यकर्तालाई आग्रह गरे । देशमा अस्थिरता ल्याउन र यो गठबन्धन तोड्न अनेक प्रकारका प्रयास भइरहेको उनले बताए । डाँकाडाल्न पहिला पालेलाई हान्नुपर्छ भन्ने बुझेकाहरू पहिला एमाले माथि प्रहार गर्न लागेका उनले सुनाए ।
सही चिजलाई केही समयको लागि पराजित गरे पनि त्यो लामो समय नटिक्ने ओलीले बताए । जस्तोसुकै असहज परिस्थिति आए पनि अन्ततः सत्यको जीत हुने उनले प्रष्ट पारे । नेकपा एमाले माथि बाहिर र भित्रबाट समेत प्रहार गरिएको बताउँदै ओलीले पार्टी भित्रबाट प्रहार नभएको भए बाहिरी प्रहारले मात्र एमालेलाई हराउन नसक्ने बताए । पार्टी भित्रबाट एमालेलाई ध्वस्त बनाउने काम भएको ओलीले बताए ।
ओलीले अनेरास्ववियुसँग टक्कर गर्न आउने जो कोही ध्वस्त हुने बताउँदै भने, ‘राजनीति जतासुकै जाओस्, डगमगाओस्, तर अनेरास्ववियु डगमगाउँदैन ।’ आउने स्ववियु निर्वाचनमा अनेरास्ववियुले आफ्नो विगतको विरासतलाई स्थापित गर्ने ओलीले विश्वास व्यक्त गरे ।