काठमाडौं । अन्ततः राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलले निर्णय गरेका छन् । प्राप्त जानकारी अनुसार बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो सहमति जुटाएका हुन् ।
कांग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा दाबी गरेका छन् । पौडेलको संभावना बलियो देखिएको छ । फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । संघीय संसदका सदस्यहरु र प्रदेशसभाका सदस्यहरु रहेको निर्वाचक मण्डलको मतदानबाट राष्ट्रपतिको निर्वाचन हुन्छ । संघीय संसदका प्रत्येक सदस्यहरुको मतभार ७९ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ ।
४५ वर्ष उमेर पुगेको र कानूनले अयोग्य नठहरिएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् । उम्मेदवार बन्न ५ जना प्रस्ताव र ५ जना समर्थन भने आवश्यक पर्नेछ । निर्वाचन आयोगले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा राष्ट्रपति निर्वाचनको लागि कार्यालय स्थापना गरिसकेको छ ।
कांग्रेसले उम्मेदवार टुंगो लगाइसकेको छैन । कांग्रेसभित्र वरिष्ठ नेता पौडेल राष्ट्रपतिका स्वभाविक दावेदार हुन् । १४ औं महाधिवेशनदेखि संसदीय दलको निर्वाचनसम्म पौडेलले लगाएको गुन तिर्न सभापति शेरबहादुर देउवा प्रतिवद्ध रहेको कांग्रेस नेताहरु बताउँछन् । यद्यपि १३ औं महाधिवेशनमा पौडेललाई सभापति बन्नबाट रोकेका पूर्व महामन्त्री सिटौलापनि राष्ट्रपतिको रेसमा छन् । झापा ३ मा राजतन्त्रवादी राजेन्द्र लिंग्देनसँग पराजित भएपनि गणतन्त्र नेपालको राष्ट्रपति बन्ने चाहना सिटौलाले राखेकै छन् । सभापति देउवाले सिटौलालाई कुनै वचन भने दिएका छैनन् ।
कांग्रेसले राष्ट्रपतिमा पौडेललाई नै उम्मेदवार बनाउने लगभग निश्चित छ । ६ दशक लामो सक्रिय राजनीतिमा प्रथम र कार्यकारी भूमिकामा काम गर्न नपाएका पौडेललाई राष्ट्रपति बनाउन कांग्रेसका अधिकांश नेताहरु तयार छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले असंवैधानिक रुपमा संसद भंग गरेपछि प्रतिगमनविरुद्धको आन्दोलनको संयोजन पौडेलले गरेका थिए । पौडेलकै अगुवाईमा संसद विघटनविरुद्ध गठबन्धन बनेको थियो । गठबन्धनको समन्वय समितिको संयोजकका रुपमा समेत भूमिका खेलेका पौडेलप्रति माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकरात्मक देखिन्छन् । कांग्रेस सभापति देउवाले पनि निकटस्थहरुसँग आफूले पौडेललाई वचन दिइसकेको बताउने गरेका छन् ।