राष्ट्रपतिमा पौडेल र नेम्बाङ आमनेसामने - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

राष्ट्रपतिमा पौडेल र नेम्बाङ आमनेसामने


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका लागि आठ दलका साझा उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाउने निर्णय गरेसँगै उनी आठ दलका साझा उम्मेदवार बन्ने भएका हुन् ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पौडेलको नाम राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गरेका थिए । त्यसपछि बैठकले पौडेलको नाममा निर्णय गरेको शर्माले बताए । शर्माले यसअघिदेखि नै पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिका लागि प्रयास नगर्न आग्रह गर्दै आएका थिए ।

राष्ट्रपतिका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । यसअघि हिजो बेलुकी आठ दलले कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा सघाउने निर्णय गराएको हो । यता, नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।