अभिनेता पल शाहले पाए सफाइ - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

अभिनेता पल शाहले पाए सफाइ


काठमाडौं । अभिनेता पल शाह(पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ । अदालतले उनीमाथि अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो ।

आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएको हो ।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहविरुद्धको जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो । यो आदेशसँगै शाह थुनामुक्त हुने भएका छन् ।

बाल यौन दुर्व्यवहारमा शाहलाई दुई वर्ष ६ महिना कैद र पीडितलाई १२ लाख क्षतिपूर्ति भराउने आदेश भएको थियो । जिल्ला अदालतको सो आदेशविरुद्ध शाह उच्च अदालतमा पुनरावेदनका लागि गएका थिए ।

साथै सरकारी वकिलको तर्फबाट भने जबरजस्तीकरणीको अभियोगलाई कम गर्दै बालयौन दुर्व्यवहारमा दोषी ठहर गर्ने फैसला नमिलेको भन्दै जबरजस्तीकरणीमा दोषी ठहर गर्नुपर्ने मागसहित पुनरावेदन गएका थिए ।

शाहविरुद्ध नवलपुर तथा तनहुँ जिल्लामा एकै नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दुई मुद्दा दायर भएको थियो । नवलपुर अदालतले उनलाई बलात्कार अभियोगमा सफाइ दिँदै, बालयौन दुर्व्यवहारको कसुरमा दोषी ठहर गरेको थियो । त्यस्तै, तनहुँ अदालतले भने शाहलाई पूर्ण सफाई दिएको थियो ।